गठबन्धनको कारणले काँग्रेसको पाँच प्रतिशत मत घट्यो : गगन थापा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

गठबन्धनको कारणले काँग्रेसको पाँच प्रतिशत मत घट्यो : गगन थापा


३ फाल्गुन २०८०, बिहिबार


काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले चुनावअघि गठबन्धन नगर्ने प्रस्ताव गरेका छन् । काँग्रेसको तर्फबाट महासमिति बैठकमा पेस गर्न तयार पारिएको सांगठनिक प्रतिवेदनमा गठबन्धनको कारणले लोकप्रिय मतको हिस्सा ५ प्रतिशतले घटेको उनले उल्लेख गरेका छन् ।

महामन्त्री थापाले भनेका छन्, ‘दुई चुनावको बीचमा हामीले १३.२ प्रतिशत मतदाता नै गुमायौँ । हामीले २०७९ मा २०७४ जतिकै लोकप्रिय मतको हिस्सा कायम राख्न चाहिने मतभन्दा १५.७४ प्रतिशत कम पाएका छौँ ।’

निर्वाचनमा अंकगणितका हिसाबले काँग्रेस ठूलो पार्टी त बन्यो, तर पार्टी एक्लै चुनाव लड्दा जस्तो कार्यकर्तामा विजयको भाव र उत्साह भने नआउने उनले उल्लेख गरेका छन् ।

उनले प्रस्तावमा भनेका छन्, ‘तीनै तहको निर्वाचनमा कतिपय स्थानमा आफ्नो आस्था प्रकट गर्ने ‘रुख’ चिन्ह नै नहुँदा काँग्रेसजनले आजपर्यन्त आफ्नो असन्तुष्टि व्यक्त गरिरहेको हामीले देखेका छौँ । संघ र प्रदेशको निर्वाचनको तथ्याङ्क हेर्दा गठबन्धनका कारण ७४ प्रतिनिधिसभा क्षेत्रमा नेपाली काँग्रेसले आफ्ना उम्मेदवारलाई मत राख्न पाएनन्‌ भने २१ वटा संघीय क्षेत्रका एउटा पनि प्रदेश क्षेत्रमा आफ्नो पार्टीलाई प्रत्यक्ष मत राख्न पाएनन्‌ । ४८ वटा प्रतिनिधि सभा क्षेत्रका प्रत्येक क्षेत्रका २ प्रदेशसभा क्षेत्रमध्ये एउटामा मात्रै हाम्रा उम्मेदवार थिए । अर्थात् ४८ वटा प्रदेशसभा क्षेत्रमा काँग्रेसका प्रत्यक्षतर्फ उम्मेदवार नै थिएनन्‌ । समग्रमा ६२ प्रदेशसभा क्षेत्रका मतदाताले प्रतिनिधिसभा र प्रदेशसभामा हाम्रो निर्वाचन चिन्ह ‘रुख’मा मत राख्न पाएनन्‌ । त्यस्तै १७ वटा क्षेत्रमा दुवै प्रदेश सभामा त काँग्रेसले रुखमा मत राख्न पाए । तर, प्रतिनिधिसभामा पाएनन्‌ ।’

Tags :
प्रतिक्रिया दिनुहोस