बाँके प्रशासनद्वारा लागू औषध पुनर्स्थापना केन्द्रको अनुगमन « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

बाँके प्रशासनद्वारा लागू औषध पुनर्स्थापना केन्द्रको अनुगमन


३ फाल्गुन २०८०, बिहिबार


बाँके । जिल्ला प्रशासन कार्यालय बाँकेले विभिन्न लागू औषध पुनर्स्थापना केन्द्रको अनुगमन गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी जोरा सिंह माझीको नेतृत्वमा खटिगएको टालिले अनुगमन गरेको हो ।

टोलीले प्रयास नेपाल नेपालगन्ज- १०, नव किरण पुनर्स्थापना केन्द्र नेपालगन्ज- १० र प्रेरणा पुनर्स्थापना केन्द्र नेपालगन्ज– १० को अनुगमन गरेको हो । अनुगमनको क्रममा ३ वटै केन्द्रले गृह मन्त्रालयबाट आबद्धता प्राप्त गरेको र आधारभूत मापदण्ड पूरा गरेको पाइएको थियो ।

अनुगमनपछि सरसफाइ, पुस्तकालय सुविधा, गुणस्तरीय चिकित्सकीय सुविधा र सुरक्षा जस्ता विषयहरूमा अझ बढी संवेदनशील भई जिम्मेवार र जबाफदेही बन्न बुधबार प्रशासनले निर्देशन दिएको छ । तीन वटै केन्द्रबाट कुल ७६ प्रयोगकर्ताहरूले उपचार सेवा लिइरहेका छन् ।

लागू औषधको प्रयोग र कारोबारको दृष्टिकोणबाट बाँके जिल्ला नेपाल कै आठौँ संवेदनशील जिल्लाको रूपमा रहेको छ । जिल्लामा चालू आ.व.को ७ महिनामा लागू औषधको सेवन, कारोबार सम्बन्धी ३७ वटा मुद्दा दर्ता भएका छन् । ५१ जना कारोबारीलाई प्रतिवादी बनाइएको प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले बताए ।

जिल्लामा २२ वटा उपचार केन्द्र दर्ता भएकोमा सेवा सञ्चालन २० वटाले गरिरहेका छन् । २० वटामध्ये महिला प्रयोगकर्ताहरूलाई मात्र लक्षित गरी एउटा उपचार केन्द्र सञ्चालन भइरहेको प्रजिअ पोखरेलले बताए । नवदृष्टि महिला उपचार तथा पुनर्स्थापना केन्द्रमा २३ जना महिला लागू औषध प्रयोगकर्ताहरूको उपचार भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस