नगरपालिकाको निर्णयविरुद्ध प्रमुख प्रशासकीय अधिकृतद्वारा उच्च अदालतमा रिट दायर, आज पेसी « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

नगरपालिकाको निर्णयविरुद्ध प्रमुख प्रशासकीय अधिकृतद्वारा उच्च अदालतमा रिट दायर, आज पेसी


२ फाल्गुन २०८०, बुधबार


सप्तरी । राजविराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद गुरुङले नगरपालिकाको निर्णयविरुद्ध उच्च अदालत जनकपुर–राजविराजमा रिट दायर गरेका छन् । आफूलाई कानुन विपरीत मन्त्रालय पठाउने पत्र बदरको माग राखी उनले मङ्गलवार रिट दायर गरेका हुन् ।

गुरुङले दायर गरेको रिटको आज पेसी तोकिएको छ । न्यायाधीश कोशलचन्द्र सुवेदीको इजलासमा पेसी राखिएको छ । नगरपालिकाले आफ्नो क्षेत्राधिकार नाघेर सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा फिर्ता पठाउने निर्णय गरी पत्र दिएपछि त्यसविरुद्ध उच्च अदालत जनकपुर–राजविराज इजलासमा रिट दायर गरेको गुरुङले बताए । उनले आज बहस हुन लागेको जानकारी दिए ।

माघ १९ गतेको कार्यपालिका सदस्यहरूको बैठकको निर्णय बमोजिम फागुन १ गतेदेखि लागु हुने गरी गुरुङलाई मन्त्रालयमा फिर्ता पठाइएको कार्यवाहक नगर प्रमुख इसरत परविनद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ । गुरुङ गत भदौ २५ गते राजविराज नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रूपमा आएका थिए ।

कर्मचारी हटाउने विषयमा कार्यवाहक नगर प्रमुख र कार्यपालिका बिच भएको विवादमा आफूलाई मुछिएको गुरुङ बताउँछन् । नगरपालिकामा कार्यरत चार कर्मचारीलाई कार्यपालिकाको बहुमतले हटाउने निर्णय गरेको थियो । तर, कार्यवाहक नगर प्रमुख नहटाउने पक्षमा थिइन् । कर्मचारी हटाउने र म्याद थप गर्ने विषयमा गुरुङले कुनै निर्णय लिएका थिएनन् ।

Tags :
प्रतिक्रिया दिनुहोस