काठमाडौँ । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री झपट बहादुर साउदको पुत्ला जलाइएको छ । कञ्चनपुरस्थित विद्यार्थी संगठनहरुले सामाजिक विकास मन्त्रालय तथा मन्त्रीका कारण कञ्चनपुरका राहुल नेपालीले चिकित्सा शिक्षा अध्ययन गर्न नपाएको भन्दै मंगलबार पुत्ला दहन गरेका हुन् ।
नेपाल चिकित्सा शिक्षा आयोगले कात्तिक १८ गते लिएको प्रवेश परीक्षामा राहुल नेपाली उत्तीर्ण भएका भएपनि सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयका कारण भर्ना छुटेको उनीहरूले बताएका छन् ।
विद्यार्थी संगठनहरुले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा एमबीबीएस भर्नाको सुनिश्चितता नगरे कडा आन्दोलन गर्ने चेतावनीसहित सुदूरपश्चिम सरकारले एमबीबीएस अध्ययनका लागि वितरण गर्दै आएको छात्रवृत्तिमा राहुलको नाम समावेश भएपनि मन्त्रालयको बेवास्ता र गैरजिम्मेवारीपनको कारण जारी गरेको अन्योलपूर्ण पत्रले भर्नाबाट अलग भएको दाबी गरेका छन् ।
