काठमाडौँ महानगरद्वारा अस्पतालजन्य फोहोर व्यवस्थापन अनुगमन सुरु « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

काठमाडौँ महानगरद्वारा अस्पतालजन्य फोहोर व्यवस्थापन अनुगमन सुरु


२९ माघ २०८०, सोमबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अस्पतालजन्य फोहोर व्यवस्थापन अनुगमन सुरु गरेको छ । उपमेयर तथा अनुगमन समिति संयोजक सुनिता डंगोलको नेतृत्वमा प्रदर्शनी मार्गस्थित काठमाडौँ मोडेल अस्पतालबाट संक्रमित फोहोर व्यवस्थापन अनुगमन थालिएको हो ।

काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ मा हानिकारक फोहोर व्यवस्थापन सम्बन्धी व्यवस्था छ । ऐनको दफा २० बमोजिम हानिकारक, स्वास्थ्य संस्थाजन्य, रासायनिक वा औद्योगिक फोहोर प्रशोधन र व्यवस्थापन उत्पादक आफैँले गर्नुपर्छ । यो व्यवस्थामा उल्लेख भएका दायित्व सम्बन्धी काम अनुगमनका सूचक हुन् ।

अनुगमन क्रममा अस्पतालको नर्सिङ विभाग प्रमुख राधिका घिमिरे लगायतले संक्रमित फोहोर उत्पादन हुने ठाउँ, उत्पादित फोहोर संकलन र ढुवानी गर्ने साधन तथा उपकरण, प्रशोधन गर्ने स्थान र प्रविधि तथा निर्मलीकरणपछिका सामान व्यवस्थापनको अभ्यास देखाएका थिए ।

घिमिरेका अनुसार अस्पतालले ३ लाख रुपैयाँ लागतमा फोहोर प्रशोधन गर्ने सामान तथा उपकरण खरिद गरेर संक्रमित फोहोरलाई सामान्य फोहोरमा रूपान्तरण गर्ने प्रणाली विकास गरेको हो ।

स्रोतमा फोहोर छुट्ट्याउन ‘नर्सिङ बेस्ड सिस्टम’ कार्यान्वयनमा छ । फोहोर उत्पादन हुने ठाउँको ड्युटीमा रहने नर्सिङ स्टाफले यसको जिम्मेवारी लिने गरेका छन् । अस्पतालमा १ सय बेड छ ।

सामान्य फोहोर उत्पादन हुने ठाउँमा चार प्रकारका बाल्टिन राखिएका छन् । प्लास्टिक, बोतल र क्यान, कागज र खानाजस्ता कुहिने वस्तु छुट्टाछुट्टै बाल्टिनमा जम्मा गरिन्छ । हानिकारक फोहोर संकलन गर्न ८ वटा बाल्टिन सहित ट्रली प्रयोग गर्ने गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस