लुम्बिनीको आम्दानीको ५० प्रतिशत स्थानीयलाई दिन माग « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

लुम्बिनीको आम्दानीको ५० प्रतिशत स्थानीयलाई दिन माग


२९ माघ २०८०, सोमबार


काठमाडौँ। लुम्बिनीको मायादेवी मन्दिरको भेटीबाट हुनेलगायत अन्य आम्दानीको ५० प्रतिशत हिस्सा स्थानीय पालिकालाई दिन स्थानीयले माग गरेका छन् । लुम्बिनी बचाउ संघर्ष समितिले लुम्बिनी विकास कोषलाई योसहित १९ बुँदे माग गरेको हो ।

लुम्बिनी गुरुयोजनाका लागि जग्गा दिनेदेखि यसको विकासमा स्थानीयको योगदान भएपनि यहाँ हुने आम्दानी स्थानीय विकासमा लगानी नभएको भन्दै समितिले आम्दानीको ५० प्रतिशत हिस्सा लुम्बिनी सांस्कृतिक नगरपालिकालाई दिन माग गरेको छ ।

समितिले विकास कोष सञ्चालक समितिमा उपाध्यक्ष, कोषाध्यक्ष र सदस्य सचिव सहित पदाधिकारीहरू र २ जना कार्यकारिणी सदस्य स्थानीय नै रहने गरी विधान संशोधन गर्न पनि माग गरेको छ । यस्तै लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख, लुम्बिनी क्षेत्रका संघीय सांसद र प्रदेश सभा सदस्य लुम्बिनी विकास कोषका पदेन सदस्य हुनुपर्ने समितिको माग छ ।

संघर्ष समितिले मायादेवी मन्दिरको हालको डिजाइन र संरचना परिवर्तन गर्न नपाइने र गुरुयोजना विपरीतका अनधिकृत संरचना बनाउन रोक्न माग गरेको छ । यस्तै मायादेवी मन्दिर दर्शन र अवलोकनका लागि प्रवेश शुल्क नलाग्ने व्यवस्था गर्न पनि संघर्ष समितिले माग गरेको छ ।

अन्तर्राष्ट्रिय सभाहललाई शान्तिपूर्ण धर्मसभा, प्रवचन वा पर्यटन प्रवर्धनमा सहयोग पुग्ने खालको कार्यक्रम गर्न पाउने कार्यविधि यथाशिघ्र बनाई संचालनमा ल्याउन समितिले माग गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस