आउँदो बजेट पूर्वाधार निर्माण र रोजगारीमा केन्द्रित हुन्छ : अर्थमन्त्री महत « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

आउँदो बजेट पूर्वाधार निर्माण र रोजगारीमा केन्द्रित हुन्छ : अर्थमन्त्री महत


२७ माघ २०८०, शनिबार


नुवाकोट । अर्थमन्त्री डा. प्रकाशशरण महतले आउँदो आर्थिक वर्षको बजेट पूर्वाधार निर्माण, सीपयुक्त शिक्षा र रोजगारी सिर्जनामा केन्द्रित हुने बताएका छन् ।

नुवाकोटको तारकेश्वर गाउँपालिका-१ मा शनिबार तारकेश्वर तामाङ समाजले आयोजना गरेको ‘ल्होछार बृहत् सांस्कृतिक कार्यक्रम’मा उनले जनताको आम्दानीको स्रोत वृद्धि हुने गरी रोजगारी सिर्जना गर्न आउँदो आवको नीति तथा कार्यक्रम र बजेट केन्द्रित गरिने बताए ।

“विगतमा राजनीतिक अन्योलताका कारण लामो समय विकासले गति लिन सकेन,” अर्थमन्त्री महतले भने, “अबको लक्ष्य स्रोत र साधनले भ्याएसम्म पूर्वाधारका संरचनाको निर्माण र प्राविधिक एवं सीपयुक्त शिक्षामार्फत रोजगारी सिर्जना गरेर अर्थतन्त्र बलियो बनाउने हुनेछ ।”

उनले मुलुकमा अब राजनीतिक स्थिरता आएकाले विकासले गति लिनेमा विश्वास व्यक्त गरे । “चीनको केरुङ नाकालाई जोड्न निर्माण भइरहेको गल्छी–रसुवागढी सडक निर्माण पूरा गर्न र टोखा-छहरे सुरुङमार्गको काम अघि बढाउन केन्द्रीय सरकारकाले प्राथमिकता दिएको छ,” उनले भने । उनले प्राविधिक शिक्षामार्फत रोजगारी बढाउनुपर्नेमा जोड दिए ।

मानव सभ्यतामा धर्म, संस्कृति र वेशभूषा अमूल्य सम्पत्ति भएकाले आ-आफ्नो जाति र समुदायअनुसारको संरक्षणमा आफैँ जुट्न उनले आग्रह गरे । अर्थतन्त्र बलियो बनाउन सके जनता र राज्य दुवै बलियो हुने भन्दै उनले बलियो नेतृत्वले आफ्नो संस्कृति, परम्परा र राष्ट्रियता जोगाउन आफैँ सक्षम हुने उल्लेख गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस