मुटु रोग विशेषज्ञ डा. कोइराला सम्मानित  « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

मुटु रोग विशेषज्ञ डा. कोइराला सम्मानित 


२० माघ २०८०, शनिबार


काठमाडौँ । वरिष्ठ मुटु रोग विशेषज्ञ  डा. भगवान कोइराला सम्मानित भएका छन् ।  परशुराम शकुन्तला स्मृति सेवा प्रतिष्ठानले शनिबार राजधानीमा आयोजना गरेको कार्यक्रममा डा. कोइरालालाई सम्मान गरिएको हो । 

कार्यक्रममा सभामुख देवराज घिमिरेले वरिष्ठ मुटु रोग विशेषज्ञ  डा. कोइराला ‘जहाँ इच्छा त्यहाँ उपाय’ भन्ने लोकोक्तिको प्रतीक बनेको बताएका छन् । उनले भने, ‘डा. भगवान कोइराला सामान्य हैसियतले काम गरेको व्यक्ति अन्तर्राष्ट्रिय ख्यातिप्राप्त गरेको डाक्टरको रुपमा परिचित हुनुभयो, त्यसको साथै आफ्नो व्यवहार र प्रयासले उहाँ सम्मानित हुनुभयो । उहाँले आफ्नो इच्छालाई प्रयत्नमा बदल्नु भयो र प्रयत्नले परिणाम दिइरहन सकिरहनु भएको छ । ’उनले डा. कोइराला समाजको कमजोरी हटाउन आफ्नो स्थानबाट स्पष्ट दृष्टिकोण दिने र त्यो दिशामा समाजलाई लान इमान्दारिताका साथ काम गर्ने एक जना व्यक्तित्व भएको पनि बताए । कार्यक्रममा सम्मानित हुने डा. कोइरालाले आफूले कुनै अस्वाभाविक काम नगरेको भन्दै आफू यसरी सम्मानित हुँदै गर्दा खुसी लागेको बताए । 

उनले भने, ‘मलाई सम्मान कार्यक्रममा जान असहज लाग्छ किनभने हामीले कुनै अस्वाभाविक काम गरेको होइन, आफ्नो कर्तव्य मात्र पूरा गरेको हो । यस्तो कार्यक्रम र यहाँ सबैको उपस्थितिले मलाई अझै प्रेरणा र प्रोत्साहन दिएको छ । ’मुटु रोग विशेषज्ञ कोइराला हाल सुविधा सम्पन्न बाल अस्पताल निर्माणको अभियानमा छन् । राजधानीसहित सातै प्रदेशमा अस्पताल सञ्चालनमा ल्याउने अभियानमा उनले अगुवाइ गरिरहेका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस