पूर्व राज्यमन्त्री बिमला बिकको नेतृत्वमा दलित महिला महासंघ गठन « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

पूर्व राज्यमन्त्री बिमला बिकको नेतृत्वमा दलित महिला महासंघ गठन


१६ माघ २०८०, मंगलबार


काठमाडौँ । दलित महिला महासंघ नेपाल गठन भएको छ । दलित समुदायका महिलाको मुद्दालाई सिंहदरबारसम्म पुर्‍याउने उद्देश्यसहित मंगलबार पूर्व उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्रीसमेत रहेकी नेकपा (एमाले)की नेता बिमला विकको अध्यक्षतामा ११ सदस्यीय महासंघ गठन भएको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँमा दर्ता भएको महासंघको उपाध्यक्षमा एमालेकै केन्द्रीय सदस्य एवं पूर्व राज्यमन्त्री आशा बिक, महासचिवमा पनि एमालेकै नेतासमेत रहेकी अधिकारकर्मी सरस्वती नेपाली, सचिवमा नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य मिना परियार र कोषाध्यक्ष पूर्व प्रदेश राज्यमन्त्री एवं एमालेकै नेता जसमाया गजमेर रहेका छन् ।

महासंघको सदस्यमा बागमती प्रदेश सभाका पूर्व सांसद एवं एमाले नेता मैना अछामी, एमालेसँग नजिक रहेकी धनमाया विश्वकर्मा, अजिता पासवान, कविता नेपाली जुनी बिक र पवित्रा नेपाली रहेका छन् ।

सातवटै प्रदेशका २८ वटा जिल्लाका दलित महिलाले नेतृत्व गरेको ३६ वटा संस्था महासंघमा आबद्ध भइसकेको अध्यक्ष विकले जानकारी दिइन । दलित महिला लिङ्ग, जात र वर्गका हिसाबले अझै पनि समुदायको पिँधमा रहेको उल्लेख गर्दै उनीहरूको अधिकारको वकालत गर्नका लागि साझा मञ्चको आवश्यकता भएकाले महासंघको गठन गरिएको उनले बताइन् ।

हत्या, हिंसा र वलात्कारको घटनामा ७० प्रतिशत भन्दा बढी दलित महिला पीडित हुनुपरेको अवस्था भए पनि यसले सिंहदरबारलाई अझै छुन नसकेको उनको भनाई छ । उनका अनुसार दलित महिलाको मुद्दा र मागलाई सिंहदरबारसम्म पुर्‍याउनका लागि महासंघले काम गर्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस