डा. शेखर कोइरालाको आरोप-प्रधानमन्त्रीले शहीदहरूको अवमूल्यन गर्नुभयो « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

डा. शेखर कोइरालाको आरोप-प्रधानमन्त्रीले शहीदहरूको अवमूल्यन गर्नुभयो


१६ माघ २०८०, मंगलबार


काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीदहरूको अवमूल्यन हुने काम गरेको आरोप लगाएका छन् ।

मंगलबारबाट सुरु भएको समुदायमा काँग्रेस अभियानको विराटनगरमा सुरुवात गर्दै नेता कोइरालाले शहीदको अवमूल्यन हुने काम प्रधानमन्त्री पुष्पकमल दाहालबाट भएको बताएका हुन् ।

उनले भने, ‘प्रधानमन्त्रीजीले ३ हजार थप शहीद थप्ने कुरा गर्नु भयो। शहीद दिवसका दिन हामीले शहीदहरूलाई अवमूल्यन गर्न भएन । त्यो कुरामा ध्यान दिन आवश्यक छ ।’

प्रजातन्त्रका निम्ति बलिदानी दिएका शहीदको अवमूल्यन नगर्न उनले प्रधानमन्त्री ‘प्रचण्ड’लाई सुझाव दिए । ‘शहीदको वास्तविक परिभाषालाई अंगिकार गरी अघि बढ्दा शहीदहरूप्रति सच्चा श्रद्धाञ्जली हुन्छ भन्ने मलाई लाग्छ । शहीदको संख्या थप्दै गर्दा शहीदकै अपमान हुने बुझेको छु ।’

प्रधानमन्त्री दाहालले माघ १३ गते काठमाडौँमा आयोजित एक कार्यक्रममा करिब ३ हजारलाई छिट्टै शहीद घोषणा गर्ने अभिव्यक्ति दिएका थिए ।

नेता कोइरालाले काँग्रेस समुदायमा पुगेर जनभावना बुझ्न अघि बढेको उल्लेख गरे । उनले समुदायस्तरमा देखिएका कमीकमजोरीलाई आत्मसात गर्दै सच्चिएर काँग्रेस अघि बढ्नुपर्नेमा जोड दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस