यू-१९ विश्वकपमा आजबाट सुपर सिक्स चरणका खेल हुँदै « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

यू-१९ विश्वकपमा आजबाट सुपर सिक्स चरणका खेल हुँदै


१६ माघ २०८०, मंगलबार


काठमाडौँ । दक्षिण अफ्रिकामा जारी एक दिवसीय यू-१९ विश्वकप क्रिकेटमा आजबाट सुपर सिक्स चरणका खेलहरू हुँदै छन्। समूहचरणका खेलपछि ४ समूहबाट हरेक तीन टोली सुपर सिक्समा प्रवेश गरेका छन्। सुपर सिक्समा १२ देशलाई २ समूहमा विभाजन गरेर ६-६ टिमका दुई समूह बनाइएको छ।

सुपर सिक्सको समूह १ मा नेपाल सहित न्युजिल्यान्ड, पाकिस्तान बंगलादेश आयरल्यान्ड र भारत रहेका छन्। यो समूहबाट भारत र पाकिस्तान समूहचरणको ४ अंकसहित प्रवेश गरेकाले उनीहरूको सेमिफाइनल सम्भावना बलियो छ।

आफूले पराजित गरेको टोली सपुर सिक्समा पुगे उनीहरूलाई हराएको अंक ‘क्यारि’ हुने भएकाले भारतले समूहचरणमा बंगलादेश र आयरल्यान्डलाई हराउँदै जोडेको चार अंक सुपर सिक्समा कायम रहने छ। किनकि बंगलादेश र आयरल्यान्ड सुपर सिक्समा पुगेका छन्। त्यस्तै, पाकिस्तानले पनि नेपाल र न्युजिल्यान्डलाई हराएकाले उसले पनि चार अंकका साथनै प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछ।

सुपर सिक्समा एक टिमले केवल दुई खेल खेल्न पाउने छन्। पाकिस्तान र भारत एकै समूहमा भए पनि यी दुई देशबीच खेल हुने छैन। समूह विजेता भएका टोलीले एक अर्काविरुद्ध खेल्नु नपर्ने भएकाले भारतको खेल समूह ‘डी’मा दोस्रो स्थानमा रहेको न्युजिल्यान्ड र तेस्रो स्थानको नेपालसँग हुनेछ। त्यस्तै पाकिस्तानले समूह ‘ए’ को दोस्रो स्थानमा रहेको बंगलादेश र तेस्रो स्थानको आयरल्यान्डसँग भिड्ने छ।

सुपर सिक्सका खेल आजदेखी शनिबार अर्थात् ३ फेब्रुअरीसम्म हुने छ। जहाँबाट शीर्ष दुई स्थानमा रहने टिमले सेमिफाइनलको यात्रा तय गर्नेछन्। अर्को समूहबाट पनि शीर्ष २ मा रहने टिम सेमिफाइनलका लागि क्वालिफाइ हुनेछन्।

समूह २ मा ‘बी’ र ‘सी’का शीर्ष तीन टोली रहेका छन्। जसमा आयोजक दक्षिण अफ्रिकासहित, अस्ट्रेलिया, इंग्ल्यान्ड, श्रीलंका, वेस्टइन्डिज र जिम्बाब्वे रहेका छन्।

विश्वकपमा सुपर सिक्सअन्तर्गत आज चार खेल हुनेछन्। जसमा भारत र न्युजिल्यान्ड भिड्दा अर्को खेलमा श्रीलंका र वेस्टइन्डिजबीच प्रतिस्पर्धा हुनेछ। आइतबार नै आयरल्यान्ड र पाकिस्तान पनि भिड्ने छन्।

Tags :
प्रतिक्रिया दिनुहोस