काभ्रेका भूमिहीनलाई जग्गा प्रदान गर्ने तयारी « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

काभ्रेका भूमिहीनलाई जग्गा प्रदान गर्ने तयारी


१५ माघ २०८०, सोमबार


काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकका भूमिहीन नागरिकलाई जग्गा प्रदान गर्ने तयारी भइरहेको छ । सो कार्यका लागि पहिलो चरणमा जिल्लाको अतिदुर्गममा सूचीकृत खानीखोला गाउँपालिकाको भूमिहीन-सुकुम्बासी, भूमिहीन-दलित र अव्यवस्थित बसोबास गर्दै आएका नागरिकलाई निस्सा वितरण गर्न लागिएको हो ।

राष्ट्रिय भूमि आयोग जिल्ला समितिले यही माघ २५ गतेदेखि उक्त गाउँपालिकाका भूमिहीनलाई निस्सा वितरण गर्न लागेको समिति सदस्य राम लामाले जानकारी दिए। उनका अनुसार समितिले जिल्लास्थित १३ स्थानीय तहमध्ये महाभारत गाउँपालिकाबाहेक अन्य गाउँपालिकामा भूमिहीनको लगत राख्ने काम भइरहेको छ । जिल्लाका अन्य स्थानीय तहमध्ये खानीखोला गाउँपालिकाले सबै प्रक्रिया पूरा गरेकाले निस्सा वितरण गर्न लागिएको हो ।

समितिका अनुसार जिल्लामा भूमिहीन–सुकुम्बासी, भूमिहीन–दलित, अव्यवस्थित बसोबासीका लागि जग्गा उपलब्ध गराउने प्रक्रियाअन्तर्गत खानीखोला गाउँपालिकाबाट काम सुरु गरिएको हो । जग्गा उपलब्ध गराउनुपूर्व सम्बन्धित व्यक्तिलाई निस्सा वितरण गर्न लागिएको छ । जग्गा प्राप्तिका लागि स्थानीय नागरिकले गाउँपालिकाको कार्यालयमा दिएको निवेदनमा अन्य व्यक्तिबाट दाबी विरोध नभएको र पीडितको प्रमाणबमोजिम निस्सा दिइने लामाले बताए।

खानीखोलाका भूमिहीन नागरिकलाई जग्गा उपलब्ध गराउने उद्देश्यले राष्ट्रिय भूमि आयोगका केन्द्रीय विज्ञ सदस्यद्वय वासुदेव हुमागाईं र टेकबहादुर शाह तथा गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङलगायत सरोकारवालाको सहभागितामा स्थानीय सहजीकरण समितिबाट निस्सा वितरण तथा नक्सापास सुरु गर्ने निर्णय गरिएको हो । समितिका अनुसार उक्त गाउँपालिकामा तीन सय ७२ अव्यवस्थित बसोबासी, ४० सुकुम्बासी, दुई भूमिहीन दलित र दुई भूमिहीन सुकुम्बासी छन्।

यस्तै आयोगको जिल्लास्थित कार्यालयमा हालसम्म दलित भूमिहीन सुकुम्बासी एक सय २६, भूमिहीन सुकुम्बासी पाँच सय ३४ तथा अव्यवस्थित बसोबास गर्नेको सङ्ख्या तीन हजार एक सय ७३ रहेको तथ्याङ्क छ । उनीहरुले जग्गा प्राप्तिका लागि निवेदन पेस गरेकाले समिति छानविनको प्रक्रियामा रहेको जानकारी दिइयो ।

Tags :
प्रतिक्रिया दिनुहोस