तत्कालीन प्रदेश सचिव भुसाल र सीडीई झा दोषी ठहर, १० हजार जरिवानासहित तीन महिना कैद « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

तत्कालीन प्रदेश सचिव भुसाल र सीडीई झा दोषी ठहर, १० हजार जरिवानासहित तीन महिना कैद


११ माघ २०८०, बिहिबार


काठमाडौँ । विशेष अदालतले मधेस प्रदेश सरकारको ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत साइकल खरिदमा भ्रष्टाचार गरेको भन्दै तत्कालीन प्रदेश सचिव यामप्रसाद भुसाल र सिनियर डिभिजनल इन्जिनियर भगवान् झालाई दोषी ठहर गरेको छ।

बिहीबार विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवरको इजलासले तत्कालीन प्रदेश सचिव भुसाल र सीडीई झालाई दोषी ठहर गरेको हो । अदालतले भुसाल र झालाई समान भ्रष्टाचार निवारण ऐनको दफा ८ (१) (ञ) बमोजिमको कसूरमा ३ महिना कैद र १० हजार रुपैयाँ जरिवाना तोकेको छ ।

१० करोड ३३ लाखभन्दा बढी अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको गरेको मुद्दामा अदालतले सो फैसला गरेको हो ।  

विशेष अदालतका उपरजिष्टार धनबहादुर कार्कीका अनुसार सो मुद्दाका आरोपितहरू सह लेखापाल राजाराम मण्डल, भण्डार/जिन्सी शाखा प्रमुख रामस्वार्थ महतो, भण्डार शाखाका खरिदार जितमोहनकुमार दास, ओम सत्य साई प्रा।लि। वीरगन्ज, पर्सा र संस्थाका प्रबन्ध निर्देशक रेनु अग्रवालले भने सफाई पाएका छन् ।

साइकल खरिदमा सम्झौता विपरीतका ब्रान्ड नखुलेका कमसल लेडिज साइकल आपूर्ति गरी १० करोड ३३ लाख ७५८ नोक्सान पुर्‍याएको भन्दै अख्तियारले गत साउन १८ मा मुद्दा दर्ता गरेको थियो ।

सम्बन्धित समाचार : तत्कालीन प्रदेश सचिवसहित ८ जनाविरुद्ध मुद्दा

Tags :
प्रतिक्रिया दिनुहोस