मेनुका पौडेलको ‘साङ्गीतिक उडान’, इन्डियन आइडलको उत्कृष्ट १० मा छनोट « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

मेनुका पौडेलको ‘साङ्गीतिक उडान’, इन्डियन आइडलको उत्कृष्ट १० मा छनोट


९ माघ २०८०, मंगलबार


काठमाडौँ । नेपालकी मेनुका पौडेल भारतीय गायन रियालिटी शो इन्डियन आइडलमा उत्कृष्ट १० मा प्रवेश गरेकी छन् । झापाको हल्दिबारीमा जन्मिएकी २५ वर्षीया मेनुका इन्डियन आइडलको मञ्चमा निर्णायक र अतिथिहरूबाट एक पछि अर्को एपिसोडमा प्रशंसा बटुल्दै उत्कृष्ट १० मा पर्न सफल भएकी हुन् । 

उनी उत्कृष्ट १० मा परेको घोषणा आइतबार साँझ प्रसारित कार्यक्रममा भएको हो । आशा भोसलेको “कजरा मोहब्बत वाला” र “पान खाए सैयाँ हमारो” बोलका दुई वटा गीत गाए लगत्तै उनलाई तीनै जना निर्णायकहरू कुमार सानु, विशाल ददलानी र श्रेया घोषालले सधैँ जसो ‘स्ट्यान्डिङ ओवेशन’ दिएका थिए । दृष्टिविहीन मेनुकाले अडिसन राउन्डबाटै निरन्तर निर्णायकहरूबाट प्रशंसा पाउँदै आएकी छन् ।

इन्डियन आइडलमा मात्र होइन अन्य शोमा पनि उनले दिग्गज कलाकारहरूबाट वाहवाही बटुलेकी थिइन् । चार वर्षअघि भातरमै भएको अर्को रियालिटी शो सारेगमपमा पनि उनले दिग्गज कलाकारहरूबाट वाहवाही बटुलेकी हुन् । 

इन्डियन आइडलमा जस्तै हरेक जसो एपिसोडमा उनले उच्च स्कोर सहित ‘स्ट्यान्डिङ ओवेसन’ पाउँथिन् । तर, त्यतिबेला टप ११ को प्रतिस्पर्धाबाटै उनी बाहिरिइन् । त्यसअघि नेपाल आइडलबाट आफ्नो परिचय बनाएकी मेनुका त्यहाँ पनि मतदानका आधारमा हुने निर्णयमा ११औँ स्थानमै सीमित बनिन् । तर, यसपटक इन्डियन आइडलमा उत्कृष्ट १० मा पर्न सफल भएकी छन् ।

इन्डियन आइडलको मञ्चमा मेनुकालाई निर्णायकले लता मङ्गेशकरसँग तुलना गरेका छन् । साथै भारतीय कलाकारले उनको प्रशंसा पनि मुक्तकण्ठले गरेका छन् । निर्णायकहरू घोषाल, ददलानी र कुमार सानुबाट मात्रै होइन गायनमा प्रसिद्ध अनुराधा पौडवाल, साधना सरगम, कविता कृष्णमूर्ति, ऋचा शर्मा जस्ता गायिकाहरू, लता मङ्गेशकर र आशा भोसलेले गाएका कैयौँ गीतमा सङ्गीत भरेका सङ्गीतकार कल्याणजी र गायक नीतिनमुकेश, चलचित्र निर्देशक महेश भट्ट, कलाकार रणवीर कपुर, रश्मिका मन्दाना लगायतबाट मेनुकाले प्रशंसा पाएकी छन् । 

मेनुकाले शोमा लता मङ्गेशकर, आशा भोसले, अनुराधा पौडवाल, अलका याग्निकजस्ता गायिकाहरूका सदाबहार चर्चित गीतहरू तथा भजनहरू गाउँदै आएकी छन् । सङ्गीतप्रति समर्पित जो कसैले कल्पना मात्रै गर्नसक्ने कुरा मेनुकाले यथार्थमा भोग्न पाएकी छन्, जनु जसका गीत एकान्तमा बसेर अभ्यास गर्थिन् तिनै गायिकाहरूसँग मञ्चमा गाउने मौका पनि पाएकी छन् ।

सामान्य परिवारमा जन्मिएकी मेनुका जन्मजात दृष्टिविहीन हुन् । मेनुकाको परिवारमा उनीसँगै आमाबुवा र दुई बहिनी छन् । सामान्य आर्थिक अवस्थाका कारण उनका बुवा रोजगारीका लागि मलेसियामा छन् । इन्डियन आइडलको एउटा कार्यक्रममा मेनुकाले भनेकी छन् बुवालाई घर फर्काउने ठुलो इच्छा छ ।

मेनुकाको सङ्गीतसँगको परिचय झापाको गरामुनीमा रहेको दुर्गा माध्यमिक विद्यालयबाट भएको हो । मेनुकाले गरामुनिस्थित होस्टेलमै बस्दा भारतको अलाहवादमा रहेको प्रयाग सङ्गीत समितिबाट सङ्गीतको डिप्लोमा गरिन् । अलाहाबादबाट सङ्गीतमा तीन वर्षको डिप्लोमासँगै मेनुकाले विद्यालयबाट कक्षा १० को पढाइ पनि पूरा गरिन् । 

इन्डियन आइडलमा जानकै लागि मेनुकाले कसरब एक हजार दुई सय वटा जति हिन्दी गीत कण्ठ गरेकी थिइन् । मेनुकाले बिहानै उठेर कम्तीमा दुई घण्टा र साँझ स्कुलपछि दुई घण्टा रियाज गर्ने गर्थिन् । उनको मेहनतले इन्डियन आइडलको कुन चरणसम्म पुर्‍याउँछ यो भने हेर्न बाँकी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस