काठमाडौँ । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले आफ्नो पार्टीले अघि सारेका राजनीतिक एजेण्डाको बारेमा गलत ढङ्गले नबुझ्न र समयको माग बुझिदिन आग्रह गरेका छन् ।
काठमाडौँमा मंगलबार सम्पादकहरूसँगको छलफलका क्रममा अध्यक्ष लिङदेनले आफूहरू मुलुकलाई पछि फर्काउन होइन अघि बढाउन प्रस्ट एजेण्डासहित आन्दोलनमा जान लागेको बताएका हुन् ।
आन्दोलन परिचालन समितिका संयोजकसमेत रहेका महामन्त्री धवलशमशेर जबरा, कोषाध्यक्ष नीलकण्ठ काफ्ले, प्रवक्ताद्वय मोहनकुमार श्रेष्ठ र ज्ञानेन्द्र शाहीसहित सम्पादकहरूसँग छलफलमा जुटेका लिङदेनले देशको अवस्थाले अब २०८४ सम्म पर्खिने स्थिति नभएकाले आन्दोलनमा जान लागिएको बताए ।
उनले राप्रपाको आन्दोलन मुख्यतः ५ वटा एजेण्डा जनताले बुझ्ने र सुन्नेगरी हुन लागेकोसमेत बताए । उनका अनुसार राप्रपाले शान्तिपूर्ण आन्दोलनमार्फत जनतालाई परिवर्तनको पक्षमा उभिन अपिल गर्नेछ ।
आन्दोलनको एजेण्डा मुख्यतः पाँच वटा हुने उनले बताए । जसमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, भिभावकीय भूमिकामा राजसंस्था, सनातन हिन्दू सापेक्ष राज्य, प्रदेश खारेजी र स्थानीय तह बलियो बनाउने र वडादेखि केन्द्रसम्म जनप्रतिनिधिको संख्या घटाउने छन्।
राप्रपाको एजेण्डामा जनता सहभागी हुने दाबी गर्दै उनले विदेशीको सहयोगमा राजसंस्था फर्काउने आफूहरूको चाहना र उद्देश्य नरहेको बताए ।