काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले वीर अस्पतालका २२१ जना करारका कर्मचारीहरू एकै पटक किन हटाउनुपरेको भन्दै प्रश्न गरेकी छिन् । सोमबार बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उनले करारकै कर्मचारी निकालेर पुनः करारकै कर्मचारी किन राखियो ? भन्दै प्रश्न गरेकी हुन् ।
उनले सोधिन्, ‘करारका कर्मचारीलाई त्यसमै स्थायी दरबन्दी सिर्जना गरौँ भन्ने विषय राखेका थियौँ र केही महिनाअघि मात्रै वीर अस्पतालका २२१ जना करारका कर्मचारी हटाइयो । स्थायी दरबन्दी थपिन्छ कि भन्ने जस्तो लागेको थियो, फेरि करारकै कर्मचारी लिइयो । उहाँहरूलाई हटाउनुपछिको कारण के थियो । उहाँहरू कारबाही परेर हो वा के कारण थियो ? फेरि करारकै कर्मचारी किन राखियो ?’
बैठकमा जवाफ दिँदै सचिव देवकुमारी गुरागाईंले वीर अस्पतालमा २६१ स्वास्थ्य जनशक्ति थप गर्न लागिएको जानकारी दिइन् । केही दिनभित्रै लोक सेवाको सेड्युलबाट विज्ञापन निकाल्न लागिएको उनको भनाइ थियो ।