प्रधानमन्त्री कप : कर्णालीलाई हराउँदै शीर्ष स्थानमा उक्लियो बागमती « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

प्रधानमन्त्री कप : कर्णालीलाई हराउँदै शीर्ष स्थानमा उक्लियो बागमती


८ माघ २०८०, सोमबार


काठमाडौँ । बागमती प्रदेश प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ । कर्णाली प्रदेशविरुद्ध सात विकेटको सहज जित निकाल्दै बागमती शीर्ष स्थानमा पुगेको हो ।

सोमबार मूलपानी क्रिकेट मैदानमा कर्णालीले प्रस्तुत गरेको ७९ रनको लक्ष्य वाग्मतीले १३ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो ।

वाग्मतीको जितमा ईशान पाण्डेले ४० रन बनाए । उनले ३६ बलमा तीन चौका र तीन छक्का प्रहार गरे । रविन जोशीले १६ रन थपे । कर्णालीका निम्ति तीन विकेट नै दीवन पुनले लिए ।

त्यसअघि, टस जितेर ब्याटिङ रोजेको कर्णालीले २४.२ ओभरमा सबै विकेट गुमाउनुअघि ७८ रन बनाएको थियो ।

बागमतीविरुद्ध निरीह देखिएको कर्णालीका अर्जुन घर्तीले २३ रन बनाए । निश्चल रावलले १३ रन थपे । कर्णालीले १७ अतिरिक्त रन पाएको थियो ।

कर्णालीलाई सस्तैमा रोक्न बागमतीका रिजन ढकालले पाँच विकेट लिए । कृजन गुरुङले दुई र विपिन आचार्य, सूर्य तामाङ र प्रतिश जिसीले समान एक-एक विकेट लिए ।

बागमतीले ६ खेलबाट आठ अंक जोडेको छ । पाँच खेलबाट चार अंकको कर्णाली तालिकाको सातौँ स्थानमा छ ।

Tags :
प्रतिक्रिया दिनुहोस