राष्ट्रिय सभा निर्वाचन : सोमबार राती १२ बजेपछि प्रचार प्रसार निषेध  « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

राष्ट्रिय सभा निर्वाचन : सोमबार राती १२ बजेपछि प्रचार प्रसार निषेध 


८ माघ २०८०, सोमबार


Nirbachan_nirwachan_election

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको आवश्यक सुरक्षा व्यवस्था सहितको तयारी कार्य पुरा गरेको जनाएको छ । साथै आयोगले निर्वाचनका लागि प्रचार प्रसार काम बन्द गर्न आव्हान समेत गरेको छ । 

यही माघ ११ गते हुने मतदानका लागि निर्वाचक मण्डलको सदस्य रहेका प्रदेश सभाका सदस्य र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखलाई मतदाताको रूपमा बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म तोकिएका मतदान स्थल तथा मतदान केन्द्रहरूमा मतदान गर्ने व्यवस्था मिलाइएको जनाएको छ । 

आयोगका सह सचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार निर्वाचनको सबै तयारी पुरा भएको र माघ ८ गते सोमबार राती १२ बजेपछि मतदान कार्य समाप्त नहुन्जेलसम्म प्रचार प्रसारका कार्यहरू बन्द गरिएको छ ।

उनले भने, ‘सोमबार राती १२ बजेपछि मतदान कार्य समाप्त नहुन्जेलसम्म राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलको भातृ सङ्गठन तथा आचारसंहिता पालना गर्नुपर्ने अन्य व्यक्ति, संस्था वा निकायले निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न नहुने, कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने,  सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर गर्न वा गराउन नहुने हुँदा सो बमोजिम आचरण पालना गर्न गराउन अनुरोध गरिएको छ ।’

निर्वाचनमा प्रदेश सभाका सदस्यहरूका लागि सेतो रङको कागजमा हरियो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्र र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखहरूका लागि सेतो रङको कागजमा रातो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्रहरूको व्यवस्था गरिएको आयोगले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस