यातायात व्यवस्था विभागका महानिर्देशकसहितको टोली किन जान लागेको हो जर्मनी ? « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

यातायात व्यवस्था विभागका महानिर्देशकसहितको टोली किन जान लागेको हो जर्मनी ?


४ माघ २०८०, बिहिबार


काठमाडौँ । यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालसहितको टोली जर्मनी जान लागेको छ । अनुगमनका नाममा घुमफिर गर्न जान लागेकोदेखि कै तर्फबाट मोज मस्ती गर्न जान लागेको भन्नेसम्म चर्चा शुरु भएको छ । यसै सन्दर्भमा टोली किन जर्मनी जान लागेको हो ? भनेर प्रशासन डटकमले विभागका महानिर्देशक रिजाललाई पहिलो प्रश्न सोधेको छ ।

करिब डेढ वर्ष अगाडी भएको ठेक्का अनुसार छापिएको कार्डको गुणस्तर मिलेको छ, छैन भनेर अनुगमन गर्न जर्मनी जान लागेको महानिर्देशक रिजालको भनाई छ ।

तपाईँको नेतृत्वमा जान लागेको अनुगमन टोलीमा को-को सहभागी हुनुहुन्छ ?
टोलीमा को-को जाने भनेर फिक्स भइसकेको छैन । टोलीमा पाँच/छ जना सहभागी हुन्छौँ होला ।

इन्जिनियर बिना नै टोली जान लागेको भनेर बाहिर कुरा आएको छ, इन्जिनियर नभई गुणस्तर कसरी जाँच हुन्छ ?
हाम्रो आइटी शाखा प्रमुख मुकेश रेग्मी टोलीमा सहभागी हुनुहुन्छ । उहाँ देशले नै चिनेको इन्जिनियर हो । अनुगमन टोलीमा उहाँ अनिवार्य रूपमा सहभागी हुनुहुन्छ । उहाँ नै जाने भएपछि कसरी इन्जिनियर बिनाको टोली भन्न मिल्छ ?

अनुगमनको बहाना बनाएर घुम्न जान लागेको भन्ने आरोप छ ?
घुम्न जान लागेको होइन, अनुगमन कै लागि जान लागेको हो । कार्डको गुणस्तर छ, छैन । अनुगमन भयो, भएन ? भन्ने कुराहरू भोलि भुक्तानी गर्ने बेलामा अनुगमनसँग सम्बन्धित प्रश्नहरू आउँछन् । भुक्तानीको चरणमा प्रक्रियाहरू पुरा भयो भएन भनेर प्रश्न उठ्छ । त्यसैले अनुगमन आवश्यक छ । प्रविधिको दृष्टिकोणले, प्रदूषणका दृष्टिकोणले पनि अनुगमन गर्नुपर्ने हुन्छ । सम्झौतामै उल्लेख भए अनुसार जान लागेका हौँ । र यसमा थप व्ययभार पर्ने पनि होइन । कम्पनीले नै सम्झौता अनुसार अनुगमनका लागि बोलाउने हो । हामीले फिल्डमा गएर अनुगमन गरेको रिपोर्ट पनि आवश्यक छ ।

स्मार्ट कार्डको नेपालमा ल्याब टेस्ट हुन्छ ?
नेपालमा पनि ल्याब टेस्ट हुन्छ । नेपाल गुणस्तर तथा नापतौल विभागले प्रमाण दिन्छ । सम्झौतामा राखिएको सर्त अनुसार पनि ल्याब रिपोर्ट लिनु पर्छ । भुक्तानी दिँदा यो कागजात आवश्यक पर्छ । यो सम्झौताको प्रावधान नै हो ।

Tags :
प्रतिक्रिया दिनुहोस