काठमाडौँ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरमा महसुस हुने गरी विकास भएको दाबी गरेकी छन् । आज एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख दाहालले भरतपुरमा जनताले आफै महसुस हुने गरी विकास भएको उल्लेख गरेकी हुन् ।
‘हामीले बोलेका कुरा पुरा गरेका हौँ,’ उनले भनिन्, ‘हामीले भरतपुरमा विकास भयो भन्नुपर्दैन । भरतपुरवासीले महसुस भएको कुरा आफै भनिरहनु भएको छ । यसमा हामीलाई गर्व छ ।’
प्रमुख दाहालले भरतपुरमा सडक पूर्वाधारको विकास नभई सबै क्षेत्रमा समानुपातिक विकास भएको प्रस्ट पारिन् । अन्य ठाउँबाट भरतपुर आउने व्यक्तित्वहरूले भरतपुरमा भइरहेको विकासलाई मुक्तकण्ठले प्रशंसा गर्ने गरेकाले यस विषयमा सन्तुष्ट रहेको उनको भनाई छ ।
भरतपुरको शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कृषिलगायतको क्षेत्रमा अनुभूति हुने गरी विकास भएको भरतपुर जनताले खुलेरै भन्ने गरेको उनले दाबी गरिन् । ‘सत्य कुरा लुक्दैन,’ उनले भने, ‘भरतपुरको विकास पहिलाको अवस्था के थियो र अहिले कस्तो भएको छ । यो कुरा घाम जस्तै छर्लङ्ग छ ।’