शैलुङमा हिउँ पर्‍यो « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

शैलुङमा हिउँ पर्‍यो


३ माघ २०८०, बुधबार


रामेछाप । रामेछापको उच्च पहाडी भेग शैलुङ लगायतका क्षेत्रमा यस पटकको पहिलो हिमपात भएको छ । माघ लागेपछि माथिल्लो लेकाली भेगमा मंगलबार हिमपात भएको हो । 

दोरम्बा शैलुङ गाउँपालिकाको शैलुङ खोला खर्क क्षेत्रमा मंगलबार पहिलो पटक हिमपात भएको स्थानीय दावासाङ्बु शेर्पाले जानकारी दिए । उनका अनुसार मङ्सिर, पुसमा हिउँ नपरेको शैलुङ क्षेत्रमा माघ लागेपछि मात्र हिउँ परेको हो । मंगलबार शैलुङमा बाक्लो हिउँ परेको छ । 

‘यस वर्षको हिउँद हिउँ नपरी जाला जस्तो भएको थियो, तर माघ लागेपछि हिउँ पर्‍यो,’ शेर्पाले भने । मंगलबार उमाकुण्ड गाउँपालिकाको लाहाछेवर लगायता स्थानमा पनि हिउँ परेको छ । मंगलबार दिउँसो सो क्षेत्रमा हिमपात भएको स्थानीयले बताएका छन् । 

हिउँ परेपछि बालीनाली राम्रो उत्पादन हुने भन्दै सो क्षेत्रका किसानहरू खुसी भएका छन् । हिउँले खाएको माटो मलिलो हुने तथा जमिनमा ओस पस्ने भएको कारण राम्रो उब्जनी हुने किसानहरू बताउँछन् । लेकमा हिउँ परेपछि तलका पानीका मूल फुट्ने र वातावरण संरक्षणको लागि समेत सहयोग पुग्ने विश्वास गरिन्छ । 

रामेछापको माथिल्लो भेगमा आलु, गहुँ, उवा तथा गुडागुडी तथा तरकारी राम्रो उत्पादन हुने गर्दछ । हिउँ नपरेको वर्ष आलु राम्रो उत्पादन नहुने किसानहरू बताउँछन् । हिउँ परेसँग आलु राम्रो उत्पादन हुने भन्दै किसानहरू खुसी भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस