विपद् जोखिम न्यूनीकरणका लागि नयाँ मोडेल विकास गर्न आवश्यक छ : गृहमन्त्री श्रेष्ठ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

विपद् जोखिम न्यूनीकरणका लागि नयाँ मोडेल विकास गर्न आवश्यक छ : गृहमन्त्री श्रेष्ठ


२ माघ २०८०, मंगलबार


काठमाडौँ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपद् जोखिम न्यूनीकरणका लागि नयाँ मोडेल विकास गर्न आवश्यक रहेको बताएका छन् । त्यसका लागि मुलुककै केन्द्रमा रहेको काठमाडौँ महानगरपालिकाले पहल लिनुपर्ने उनको आग्रह थियो । 

२६ औँ राष्ट्रिय भूकम्प दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा गृहमन्त्री श्रेष्ठले अन्य स्थानीय पालिकाहरूका लागि समेत अनुकरणीय हुने गरी स्थानीय उत्थानशीलता विकास गर्ने नयाँ मोडल विकास गर्न काठमाडौं महानगरपालिकालाई आग्रह गरे । 

काठमाडौँ महानगरपालिकाले विसं.१९९० साल माघ २ गते गएको विनाशकारी भूकम्पको सम्झनामा मंगलबार न्युरोडमा आयोजना गरेको स्मृति सभामा उनले महानगरपालिकाले विपद् व्यवस्थापनका लागि गरेको पहल राम्रो भएको बताए । साथै उनले भूकम्पलगायतका विपद् जोखिमबाट बच्न नयाँ मोडेलको आवश्यकता रहेको भन्दै त्यसका लागि महानगरपालिकाले प्रदेश र संघीय सरकारसँग समेत सहकार्य गर्न सक्ने बताए । 

‘यी सबै कार्यको लागि संविधानले परिकल्पना गरे अनुसार संघीय र प्रदेश सरकारका साथै काठमाडौं महानगरपालिका मिलेर जोखिम न्यूनीकरण र स्थानीय उत्थानशीलता विकास गर्ने नयाँ मोडल विकास गर्न मिलेर काम गरौं । त्यो मेडेल नेपालका सबै पालिकाहरूको लागि अनुकरणीय हुन सक्छ,’ उनको भनाइ थियो । 

गृहमन्त्री श्रेष्ठले काठमाडौं महानगरले विकटका पालिकालाई गरेको एम्बुलेन्स लगायतको सहयोग तथा जाजरकोट भूकम्पमा गरेको सहयोग र पुनर्निर्माण देखाएको चासोको प्रशंसा गरे ।

कार्यक्रममा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले हरेक पालिकालाई भूकम्प लगायतका अन्य विपद्को जोखिमबाट बच्न सजग र सचेत गराउँदै काठमाडौँको मौलिक घर/भवन निर्माण संरचनाको कलालाई अन्य स्थानीय पालिकामा पनि विस्तार गर्नुपर्ने धारणा राखे ।

उनले काठमाडौं महानगरले सुरु गरेको आगलागी नियन्त्रणका साधन व्यवस्थापन,एम्बुलेन्स सेवा,शैक्षिक क्षेत्रको सुधार लगायतका कार्य अन्य स्थानीय पालिकाको लागि समेत अनुकरणीय भएको बताए । 

Tags :
प्रतिक्रिया दिनुहोस