‘जलवायु परिवर्तन कम गर्न नेपालले बाँस खेती गर्नुपर्छ’ « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

‘जलवायु परिवर्तन कम गर्न नेपालले बाँस खेती गर्नुपर्छ’


२६ पुस २०८०, बिहिबार


काठमाडौँ । विश्व खाद्य तथा कृषि सङ्गठनले जलवायु परिवर्तनको असर कम गर्न नेपालले बाँस खेती गर्नुपर्ने सुझाव दिएको छ ।

आज वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतोसँगको भेटवार्तामा सङ्गठनका प्रमुख क्यु दोङ युले जैविक विविधताको संरक्षण गर्न, भूक्षय रोक्नुका साथै जलवायु परिवर्तनको असर कम गर्न बाँस खेती विकल्प हुनसक्ने सुझाव दिएका हुन् । उनले नेपालमा खेती नगरिएका र बाँझो जमिनको उपयोगमा ध्यान दिन आवश्यक रहेको बताए ।

प्रमुख युले नेपालमा बाँस खेतीको सम्भावना धेरै रहेकाले राष्ट्रिय कार्यक्रम नै बनाएर अघि बढ्न सुझाव दिए । स्थानीय तथा प्रदेश सरकारले कृषि वनको कार्यक्रमलाई बढवा दिनुपर्नेमा उनको जोड छ ।

भेटमा वन तथा वातावरणमन्त्री महतोले खाद्य, जल, ऊर्जा, वन र जैविक विविधतालाई एकीकृत रूपमा अगाडि बढाउने कार्यक्रम नेपालजस्ता बहुआयामिक जोखिम भएका देशमा आवश्यक रहेको बताए ।

विश्व खाद्य तथा कृषि सङ्गठनका प्रमुख यु नेतृत्वको टोली तीन दिने भ्रमणका लागि काठमाडौँ आएको हो । प्रतिनिधि मण्डलले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कृषि तथा पशुपक्षी विकासमन्त्री डा. वेदुराम भुसालसँग भेट गरिसकेको छ । विश्व खाद्य कार्यक्रमले आज दिउँसो भविष्यको स्मार्ट बाली सम्बन्धी नीति संवाद गर्दैछ ।

Tags :
प्रतिक्रिया दिनुहोस