राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ३५ अर्ब तरलता खिच्दै  « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ३५ अर्ब तरलता खिच्दै 


२३ पुस २०८०, सोमबार


काठमाडौँ । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले ३५ अर्ब तरलता खिच्ने भएको छ । मंगलबार निक्षेप सङ्कलन उपकरण बोलकबोल मार्फत ३५ अर्ब तरलता खिच्न लागेको राष्ट्र बैंकले जनाएको छ । १४ दिनका लागि बैंकिङ प्रणालीबाट उक्त तरलता खिच्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।

अधिक तरलता भएपछि पछिल्लो समय राष्ट्र बैंकले लगातार रूपमा बैंकिङ प्रणालीबाट तरलता खिचिरहेको छ । राष्ट्र बैंकको २२ फागुनसम्मको तथ्याङ्क अनुसार बैंकिङ प्रणालीमा १ खर्ब ९ अर्ब अधिक तरलता छ । जसमध्ये ७५ अर्ब ७० करोड निक्षेप सङ्कलन उपकरण मार्फत राष्ट्र बैंकले खिचेको छ । चालु आर्थिक वर्ष लागेपछि बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप साढे ३ खर्ब भन्दा माथिले वृद्धि हुँदा कर्जा लगानी करिब पौने २ अर्बले बढेको राष्ट्र बैंकले जनाएको छ ।

आयातमा सङ्कुचन र रेमिट्यान्समा उल्लेख्य वृद्धि हुँदा चालु आर्थिक वर्षमा निक्षेपको वृद्धिदर उल्लेख्य देखिन्छ । तर, कर्जाको माग न्यून हुँदा बैंकहरुले ब्याजदर पनि घटाउँदै लगेका छन् ।

मंगलबार १० अर्बको निक्षेप सङ्कलन उपकरण परिपक्व हुँदै गर्दा ३५ अर्बको निक्षेप सङ्कलन उपकरण बोलकबोल मार्फत राष्ट्र बैंकले तरलता खिचेको हो ।

२२ पुसमा विकास ऋणपत्र बोलकबोल मार्फत सरकारले ७ अर्ब आन्तरिक ऋण उठाएको थियो । यस्तै २३ पुसमा पनि ट्रेजरी बिल बोलकबोल मार्फत ३ अर्ब गरी १० अर्ब आन्तरिक ऋण परिचालन गरेको थियो । २ दिनमा १० अर्ब आन्तरिक ऋण परिचालन गर्दा पनि अन्तर बैंक ब्याजदर ३ प्रतिशतभन्दा तलै रहेकोले मंगलबार ३५ अर्ब तरलता खिच्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस