स्वदेशमा उत्पादित वस्तुहरूको प्रयोग बढाउन मन्त्री गुरुङको जोड « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

स्वदेशमा उत्पादित वस्तुहरूको प्रयोग बढाउन मन्त्री गुरुङको जोड


२० पुस २०८०, शुक्रबार


काठमाडौँ । शहरी विकासमन्त्री सीता गुरुङले स्वदेशमै उत्पादित वस्तुहरूको प्रयोग बढाउनुपर्नेमा जोड दिएकी छन् ।

शुक्रबारबाट काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको नवौँ नेपाल वुड अन्तर्राष्ट्रिय एक्स्पोको उद्घाटन गर्दै मन्त्री गुरुङले नेपालमा हुने विकास निर्माणका कार्यमा स्वदेशमै उत्पादित वस्तुहरूको प्रयोग बढाउनुपर्ने बताएकी हुन् ।

उनले नेपालमै अन्तर्राष्ट्रिय मापदण्डअनुसारको विभिन्न काष्ठसम्बन्धी सामग्रीहरूको उत्पादन बढिरहेको र नेपालमै काष्ठ सम्बन्धी उद्योगहरू बढाउनुपर्ने बताइन् । काष्ठसम्बन्धी उद्योग र यस्ता मेलाहरूलाई सहुलियत दिइरहेको पनि बताइन् ।

उनले नेपालमा काष्ठसम्बन्धी बनेका सामग्रीहरूको प्रचार नेपालमा हुन नसकेकाले आगामी दिनमा यसको प्रचार बढाउँदै लैजानुपर्ने बताइन् ।

‘हामीले चाहने हो भने असम्भव केही छैन भन्ने कुरा यहाँबाट प्रमाणित हुन्छ । अन्तर्राष्ट्रिय मापदण्डअनुसारको डिजाइन,तयारी गर्न सकिन्छ भन्ने कुरा देखिन्छ । इण्डस्ट्रीहरु नेपालमा पनि खडा गर्नुपर्छ भन्नेकुराको राज्यले गर्नुपर्ने सहयोग गरिरहेको छ । तर पनि प्रभावकारी भने भइसकेको अवस्था होइन । आगामी दिनको लागि यस्ता इण्डस्ट्रीहरुलाई केही सहुलियत, सुविधा दिनुपर्छ भने पनि पहिलो चरणमा दिनुपर्छ । पूर्वाधार विकासको काममा स्वदेशमै उत्पादित वस्तुहरूको प्रयोग बढाउनुपर्छ । निर्णय पनि गरेका छौँ’, उनले भनिन्, ‘तर अहिले नै प्रचारमा पनि र सूचनामा पनि नजिक पुग्न सकिएको छैन ।

नेपालमै उत्पादन भएको वस्तुको विश्वसनीयतामा आम मानिसमा पुर्‍याउन सकेका छैनौँ । अन्तर्राष्ट्रिय सामग्री नै बढी खोज्ने कुराले यहाँका उत्पादित वस्तुमा बढी बजार र पहिचान पाउन सकेको छैन । भवन निर्माण गर्दा सकेसम्म नेपालमै उत्पादित वस्तु सामग्रीहरूको प्रयोग गर्नुपर्ने नीति बनाएका छौँ ।’

Tags :
प्रतिक्रिया दिनुहोस