ललितपुर । विसं २०७२ को भूकम्पमा क्षतिग्रस्त ललितपुर महानगरपालिका-४ जावलाखेलस्थित ऐतिहासिक सम्पदा ललित मण्डपको पुनः निर्माण हुने भएको छ ।
ललितमण्डप छेउमा रहेका पाटी (फल्छा) र जावलाहिटी (गैरेधारा) भने ललितपुर महानगरले यसअघि नै पुन:निर्माण गरिसकेको छ ।
ललितमण्डपलाई ऐतिहासिक शैलीमा पुनः निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) तयार भएको ललितपुर महानगरपालिका वडा नं ४ का अध्यक्ष सन्तोष खड्काले जानकारी दिए ।
उनले भने, ‘हाल अवस्थित भवन पञ्चायतकालमा निर्माण भएको हो । हामीले राणाकालअघिको फोटो भेट्टाएका छौँ । इतिहास झल्कने गरी ललितमण्डप पुनः निर्माण हुनेछ ।’
हरेक वर्ष हुने रातो मच्छिन्द्रनाथको रथ ललितमण्डप परिसरमै राखिन्छ । सोही परिसरबाटै मछिन्द्रनाथ जात्राको अन्तिम दिन भोटो देखाउने प्रचलन भएकाले पनि ललित मण्डपको महत्त्व विशेष भएको उनको भनाइ छ ।
हाल जावलाखेलमै मछिन्द्रनाथ सङ्गहालयसमेत निर्माण हुँदैछ । जुन सङ्ग्रहालयमा मछिन्द्रनाथको ऐतिहासिक सामग्री सङ्ग्रहित गरिनेछ ।
ऐतिहासिक सम्पदासम्बन्धी जानकारी ज्यापु समाजसँग रहेकाले सोही समाजसँगको सल्लाहमा ललितमण्डपलाई कलात्मकरूपमा पुनः निर्माण गरिने वडाध्यक्ष खड्काको भनाइ छ ।
उनले भने, ‘पुनः निर्माणको विषयमा नगरप्रमुखसँग कुरा भएको छ । उनले निर्माणका लागि चासो देखाउनुभएको छ । ज्यापु समाजसँग छलफलपछि ललितमण्डप निर्माण हुनेछ ।’