बालकुमारी घटना रहस्यमय रूप र सारमा हेर्नुपर्छ : माओवादी केन्द्र « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

बालकुमारी घटना रहस्यमय रूप र सारमा हेर्नुपर्छ : माओवादी केन्द्र


१७ पुस २०८०, मंगलबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रले बालकुमारी घटना स्वाभाविक नभएको प्रारम्भिक निष्कर्ष निकालेको छ । जनतासँग माओवादी विशेष रूपान्तरण अभियानबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता अग्निप्रसाद सापकोटाले घटना रहस्यमय जस्तो देखिएको बताए ।

उनले भने, ‘आयोग गठन भएको छ । विस्तृत रिपोर्ट आयोगले नै बाहिर ल्याउँछ । यो धेरै गम्भीर विषय हो । राज्य व्यवस्था समितिमा पनि छलफल भएको छ । घटना घटेको क्षणदेखि नै प्रधानमन्त्रीले नै सुरक्षा निकायसँग छलफल गरिरहनुभएको छ । हामीलाई पनि के लाग्छ भने घटनालाई रूप र सारमा हेर्नुपर्छ । जनतामा आक्रोश हुनु स्वाभाविक हो । तर, गोली नै चल्नुपर्ने स्थिति नआउनुपर्ने लाग्छ । समग्र घटनाको कुरा गर्दा प्रधानमन्त्री तथा पार्टी अध्यक्षको आशय यो घटनाको गम्भीरतापूर्वक छलफल गर्नुपर्छ । सबैले अध्ययन गर्नुपर्छ । तर, यो त्यति स्वाभाविक छैन, रहस्यमय छ ।’

उनले उत्तेजना फैलाए जस्तो रहेको भन्दै स्वाभाविक जस्तो नदेखिएको बताए । त्यसो त माओवादीका अध्यक्षसमेत रहेका ‘प्रचण्डले हिजो एक कार्यक्रममा बोल्दै घटना गणतन्त्रविरुद्धको डिजाइन हुनसक्ने आशङ्का व्यक्त गरेका थिए ।

प्रधानमन्त्रीले भनेका थिए, ‘यो सामान्य छैन । दुई युवाको जस्तो परिवेशमा जसरी हत्या भएको छ । ईपीएसमा जे जस्ता गतिविधि भएका छन् । गाडी जलाउने गतिविधि छ । यो थिङ्स आर नट ह्वाट दे सीम भनेको जस्तो छ । चिज त्यस्तो छैन, जस्तो देखिएको छ । त्योभित्र अर्कै केही छ भन्ने मैले अनुभूत गरेको छु । यो कहीँ लोकतन्त्र र गणतन्त्रविरुद्धको डिजाइन कतै छैन भन्ने यो प्रमाणित होइन ।’ शुक्रबार ईपीएस परीक्षाका विषयमा भएको प्रदर्शनमा दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको ज्यान गएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस