वैदेशिक रोजगारीमा जाने युवाका समस्या सम्बोधन गर्न नेविसंघको माग « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

वैदेशिक रोजगारीमा जाने युवाका समस्या सम्बोधन गर्न नेविसंघको माग


१७ पुस २०८०, मंगलबार


काठमाडौँ । नेपाल विद्यार्थी संघले कोरिया भाषा परीक्षा र वैदेशिक रोजगारीमा जाने अन्य युवाहरूले भोगिरहेका समस्या समाधानका लागि सरकारसँग माग गरेको छ ।

नेविसंघका नेताहरुले सोमबार वैदेशिक रोजगार विभागमार्फत सरकारलाई ध्यानाकर्षण पत्र बुझाउँदै कोरिया भाषा प्रणालीसहित वैदेशिक रोजगारीमा सर्वसाधारणले भोगिरहेका समस्या समाधान गर्न माग गरेका हुन् ।

शुक्रबार बालकुमारीमा सरकारको कमजोरीका कारण रोजगारीका लागि कोरिया जान चाहने दुई युवाको ज्यान गएको भन्दै नेविसंघले कोरियासहित वैदेशिक रोजगारीमा विभिन्न देश जाने युवाहरूलाई उपयुक्त वातावरण बनाउन नेविसंघले ध्यानाकर्षण गराएको छ ।

सोमबार नेविसंघको एक प्रतिनिधि मण्डलले विभागका महानिर्देशकलाई भेटेर वैदेशिक रोजगारीमा जानेहरूलाई श्रम स्वीकृति, भाषा प्रशिक्षण, तालिम र सरकारले सहजीकरण गर्नुपर्ने सबै सेवाहरूलाई व्यवस्थित बनाउन आग्रह गरेको केन्द्रीय सदस्य भुवन भट्टले जानकारी दिए ।

‘स्वेदशमै पनि रोजगारीको वातावरण बनाउने जिम्मेवारी राज्यको हो । त्यो वातावरण त छैन नै, विदेशमा गएर रोजगारी गर्छु भन्दा पनि सरकारको सहयोग छैन, बरु झमेला बनाइदिने र अल्झाउने काम भइरहेको छ,’ भट्टले भने, ’सरकारको लापरवाहीकै कारण दुई युवाले ज्यान गुमाउनुपर्‍यो । रोजगारी दिन नसकेपनि विदेशमा गएर रोजगारी गर्न चाहनेहरूका लागि सरकारले सहज वातावरण बनाइदिनुपर्छ ।’

नेविसंघले वैदेशिक रोजगारमा पठाउने विभिन्न सस्थाहरु सँगको मिलेमतोमा भइरहेको ठगीमा समेत सरकारले गम्भीर भएर छानबिन र दोषीलाई कारबाही गर्नुपर्ने भनेको छ । ‘श्रम स्वीकृति लिन जाने सर्वसाधारणलाई दुख दिने, आर्थिक लेनदेन गर्न बिचौलिया परिचालन गर्ने, घुस माग्ने, सामान्य सेवा लिन पनि घण्टौँ लाइनमा बस्नुपर्ने जस्ता समस्याहरू देखिएका छन्, ती समस्याको सम्बोधन गर्न सरकारलाई कुनै कठिनाई छ,’ उनले भने ।

रेमिट्यान्सले देशको अर्थतन्त्रमा ठुलो हिस्सा राखिरहेको अवस्थामा वैदेशिक रोजगारीलाई सम्मानजनक क्षेत्रकोरुपमा विकास गर्नुपर्ने नेविसंघको माग छ ।

Tags :
प्रतिक्रिया दिनुहोस