काठमाडौँ । बाराको कलैयास्थित बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल रूपेश स्वर्णकारको हत्याका मुख्य सुटर आरोपीलाई प्रहरीले गोली प्रहार गरी पक्राउ गरेको छ ।
बाराको विश्रामपुर गाउँपालिका-३ बाट मङ्गलवार साँझ ३२ वर्षीय सुजित सिंहलाई गोली हानेर पक्राउ गरिएको बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेले जानकारी दिए ।
उनका अनुसार गएराति ८ बजे बाराको विश्रामपुर गाउँपालिका-३ मा फेला परेका सिंहलाई प्रहरीले पक्राउ गर्न खोज्दा भाग्न थालेपछि खुट्टामा गोली प्रहार गरेर नियन्त्रणमा लिइएको हो ।
सिंहको हाल जिल्लाको कलैया अस्पतालमा उपचार भइरहेको अस्पताल स्रोतले बताएको छ ।
गत कार्तिक १३ मा दुई मोटरसाइकलमा रहेका चार जनाले गोली चलाउँदा प्रिन्सिपल स्वर्णकार घाइते भएका थिए । उनलाई उपचारका लागि वीरगञ्ज लगे लगत्तै उनको मृत्यु भएको थियो ।