काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हाइ प्रोफाइलहरूलाई कानुनले छुनै सक्दैन भन्ने आम मनोविज्ञान बनिरहेकोमा त्यो तोडिएको बताएका छन् ।
मङ्गलवार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले सरकारले नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण, त्रिभुवन विमानस्थलबाट सुनको अवैध आयात लगायतका काण्डमा इतिहासकै सबैभन्दा ठूलो अनुसन्धान र कारबाही गरेपछि जनतामा लोकतन्त्रप्रति भरोसा बढेको बताए ।
‘मैले संसद्मा सुरुकै दिन गरेको सङ्कल्प थियो, सुशासन। देशमा एउटा “भिआइपी कल्चर” स्थापित भइरहेको थियो। हाइ प्रोफाइलहरूलाई कानुनले छुनै सक्दैन भन्ने आम मनोविज्ञान बनिरहेको थियो। सरकारले नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण, त्रिभुवन विमानस्थलबाट सुनको अवैध आयात लगायतका काण्डमा इतिहासकै सबैभन्दा ठूलो अनुसन्धान र कारबाही गरेपछि जनतामा लोकतन्त्रप्रति भरोसा बढेको छ,’ उनले भने, ‘कहिल्यै कानुनले नछुने ठानिएका उच्चपदस्थहरू कानुनको नियन्त्रणमा आए। देशमा पहुँच होइन, विधिको शासन छ भन्ने मान्यता स्थापित गर्न सरकारले कतै कुनै लापरबाही गरेन ।’
यसबाट कानुनको सर्वोच्चता मात्र होइन, लोकतन्त्रकै सर्वोच्चता पनि स्थापित भएको उनको भनाइ छ । ‘यसलाई मैले लोकतन्त्रको सर्भिसिङ र शुद्धीकरण भनेको छु। यो क्रम निरन्तर जारी रहनेछ,’ उनले भने । मिटरब्याजी र सहकारीका ठगहरू पनि राज्यको नियन्त्रणमा आइरहेका प्रधानमन्त्रीले बताए ।
‘वर्षौंदेखिको विकृति र बेथितिको चक्र भत्काउन सरकार उत्तिकै प्रतिबद्ध छ। एनसेलको शेयर बिक्रीबारे जानकारी पाए लगत्तै अत्यन्तै संवेदनशीलताका साथ यो विषयलाई लिँदै छानबिन तथा अध्ययन समितिमार्फत राष्ट्रिय हितको संरक्षण गर्न सरकार प्रतिबद्ध छ,’ उनले भने ।