प्रहरी महानिरीक्षक कुँवरद्वारा बाजुरा प्रहरीको नवनिर्मित कार्यालय भवन उद्घाटन  « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

प्रहरी महानिरीक्षक कुँवरद्वारा बाजुरा प्रहरीको नवनिर्मित कार्यालय भवन उद्घाटन 


९ पुस २०८०, सोमबार


काठमाडौँ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले जिल्ला प्रहरी कार्यालय बाजुराको नवनिर्मित कार्यालयको उद्घाटन गरेका छन् । सोमबार एक कार्यक्रमकाबीच महानिरीक्षक कुँवरले प्रहरी निवास, ब्यारेक, हिरासत कक्ष तथा मेश भवनहरूको उद्घाटन गरेका हुन् । 

साथै उनले नवनिर्मित भवनहरूको निरीक्षण समेत गरेका छन् । कार्यक्रमको अवसरमा प्रहरी महानिरीक्षक कुँवरले भवन निर्माण कार्यमा सहयोग पुर्‍याउने विभिन्न सहयोगीहरूलाई प्रशंसा-पत्र प्रदान गरेका छन् । 

सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले नयाँ भवनबाट सम्पादन हुने प्रहरी कार्य पनि थप ऊर्जामय, नवीन सोच र उच्चस्तरको हुनुपर्ने चर्चा गर्दै नागरिकको सुरक्षामा अझ बढी मेहनत र व्यावसायिकताको साथ प्रस्तुत हुनुपर्ने बताए । नागरिकमैत्री, सेवामुखी भावका साथ सम्पूर्ण स्थानीयवासीहरूले भय र त्रासरहित वातावरणमा आ-आफ्नो दैनिक क्रियाकलाप, उद्योग, व्यापार, रोजगार तथा व्यवसाय गर्न पाउने वातावरण निर्माणमा अहोरात्र कटिबद्ध रहन उपस्थित प्रहरी अधिकृतहरूलाई उनले निर्देशन दिए।

प्रहरी महानिरीक्षक कुँवरले समाजमा अशान्ति र अराजकता फैलाउने उच्श्रृंखल तथा आपराधिक समूह, सामाजिक हित विपरीतका गैरकानूनी र अनैतिक कार्य गर्नेविरूद्ध खरो रूपमा प्रस्तुत भई कुनै किसिमको दबाब र प्रभावमा नपरी शून्य सहनशीलताका साथ कार्य सम्पादन गर्न पनि प्रहरी कर्मचारीहरूलाई निर्देशन दिए। नागरिकसँगको उचित समन्वय र सहकार्यमा कानून विपरीतका गतिविधि नियन्त्रण गरी समाजमा प्रभावकारी शान्ति सुरक्षा व्यवस्था कायम गर्न सकिने उल्लेख गर्दै स्थानीय जनसमुदायलाई प्रहरीसँग निरन्तर समन्वय, सहकार्यको लागि उनले आग्रह समेत गरे ।  

Tags :
प्रतिक्रिया दिनुहोस