सलीसल्लामा बेलिब्रिज निर्माण भएसँगै दक्षिणी हुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडियो « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सलीसल्लामा बेलिब्रिज निर्माण भएसँगै दक्षिणी हुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडियो


८ पुस २०८०, आइतबार


हुम्ला । दक्षिणी हुम्ला चार गाउँपालिका राष्ट्रिय सडक सञ्जालसँग जोडिएका छन् । चंखेली र सर्केगाड गाउँपालिकाको सिमाना सलीसल्लाको कर्णाली नदीमाथि बेलिब्रिज निर्माण भएसँगै दक्षिणी हुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएको हो ।

शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले उक्त बेलिब्रिजको उद्घाटन गरे । बेलिब्रिज उद्घाटनका लागि सल्लिसल्ला पुगेका यातायात मन्त्री ज्वालाले समयमै पुल निर्माण भएका कारण यसै आर्थिक वर्षमा हुम्ला सदरमुकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने सरकारको लक्ष्यलाई सघाउ पुर्‍याएको बताए ।

कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले छारे क्षेत्रको चट्टानी भीरमा सेनाले काम गरिरहेको र खार्पुमा रहेको दोजाम कर्णाली नदीमा आउँदो वैशाखसम्म बेलिब्रिज निर्माण सकिने गरी काम अगाडि बढेको जानकारी दिए । कार्यक्रममा प्रतिनिधि सभा सदस्य छिरिङ डम्डुल लामा, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्मा, जिल्ला समन्वय समितिका प्रमुख शिवराज शर्मा, सर्केगार्ड गाउँपालिका अध्यक्ष ठानबहादुर रोकाया लगायतकाे उपस्थिति थियो ।

उक्त बेलिब्रिज गत जेठबाट सुरु भई कात्तिकमा सम्पन्न भएको थियो । बेलिब्रिज ४८.७६८ मिटर लम्बाई र ४.२० मिटर चौडा रहेको छ । १ करोड ८६ लाख ७२ हजार ४६० रुपैयाँमा बेलिब्रिज निर्माण सम्पन्न गर्ने गरी २०८० जेठ १३ गते कङ्ग्री निर्माण सेवासँग हिल्सा–सिमकोट सडक आयोजनाले सम्झौता गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस