डेढ वर्षभित्र सिङ्गो नेपाल उज्यालो बनाउँछौँ : प्रधानमन्त्री ‘प्रचण्ड’ « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

डेढ वर्षभित्र सिङ्गो नेपाल उज्यालो बनाउँछौँ : प्रधानमन्त्री ‘प्रचण्ड’


७ पुस २०८०, शनिबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले आफ्नो दोस्रो कार्यकालमा काठमाडौँ उपत्यकामा लोडसेडिङको अन्त्य भएको भन्दै तेस्रो कार्यकालमा सिङ्गो देश उज्यालो बनाउने गरी योजना बनाएको बताएका छन्।

शनिबार दिउँसो माओवादी केन्द्रको बुढानीलकण्ठको नगर सम्मेलन उद्घाटन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ माओवादीले आफ्नो पालामा निकै राम्रो काम गर्ने गरेको भए पनि जसचाहिँ अरूहरूले लिएको बताएका हुन् ।

उनले भने, ‘देशमा विकास र समृद्धिका जति काम भएका छन्, तीमध्ये मुख्य कामहरू हाम्रै पालामा भएका छन्। मैले तीन पटक सरकारको नेतृत्व गर्दा केही रणनीतिक महत्वका काम गरेको छु। तर, हामीले आफूले गरेका कामको जस लिन सकिरहेका छैनौँ। विरोधीले पीठो बेचिरहेका छन्, हामी चामल बेच्न पनि सकेनौँ ।’

प्रधानमन्त्रीले आफ्नो तीन वटै कार्यकालमा महत्त्वपूर्ण कामहरू भए पनि त्यसको स्वामित्व लिन नसकिएको बताए ।  उनले भने, ‘‘पहिलो कार्यकालमा गरिब किसानको एक लाखसम्मको ब्याज र तीस हजारसम्मको सावा नै मिनाहा गरियो। पूर्व–पश्चिम, उत्तर–दक्षिण परियोजनाहरू अगाडि सारियो। विकासका ठूलठूला आयोजनाहरू सञ्चालनमा आए। प्रत्येक गाविसमा सहकारी निर्माण गरियो। दोस्रो कार्यकालमा उपत्यकामा लोडसेडिङको अन्त्य गरियो। अबको डेढ वर्षमा सिङ्गो देश नै उज्यालो हुने गरी काम गर्छौँ।’

सम्मेलनमा प्रधानमन्त्रीले तीन महिने अभियानले जनआधारमा सुदृढ हुँदै गएको भन्दै फागुनमा विधान अधिवेशन गरेर पार्टीमा नयाँ ढङ्गले विचार संश्लेषण गरिने जानकारी दिए।

Tags :
प्रतिक्रिया दिनुहोस