काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले अंग प्रत्यारोपणबारे सकारात्मक दृष्टिकोण बनाई आ-आफ्नो ठाउँबाट योगदान गर्न आग्रह गरेका छन् ।
आज बिहान काठमाडौँमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र अंग प्रत्यारोपण समाज नेपालद्वारा आयोजित प्रथम राष्ट्रिय प्रत्यारोपण सम्मेलनमा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् ।
प्रधानमन्त्री दाहालले मस्तिष्क मृत्युपछि अंगदान गर्न आम सर्वसाधारण हिचकिचाइरहेको भन्दै अंग प्रत्यारोपणबारे सबैले सकारात्मक दृष्टिकोण बनाउनुपर्नेमा जोड दिएका छन् ।
उनले शरीरका मुटु,कलेजो,आँखा जस्ता महत्त्वपूर्ण अंग दान गर्न डराउन नहुने भन्दै सबैलाई अंग प्रत्यारोपणको राष्ट्रिय अभियानमा साथ दिन आग्रह गरे ।
प्रधानमन्त्री दाहालले भने, ‘मरेपछि खरानी भएर जाने अङ्गहरू दान गर्दा धेरै मानिसले पुनर्जीवन पाउँछन्। मानव हुनुको नाताले कलेजो, मृगौला, मुटु, फोक्सो लगायतका अंग फेल भएर मृत्युको मुखमा पुगेका बिरामीहरूलाई बचाउन प्रयास गर्नु सबै मानवको साझा जिम्मेवारी हो। तसर्थ,अंग प्रत्यारोपणको यस राष्ट्रिय अभियानबारे सकारात्मक दृष्टिकोण बनाई आ–आफ्नो ठाउँबाट योगदान गर्न सम्पूर्ण नेपालीहरूमा हार्दिक अपील गर्दछु ।’
प्रथम राष्ट्रिय प्रत्यारोपण सम्मेलन गुणस्तरीय स्वास्थ्य सेवाका दृष्टिले निकै महत्त्वपूर्ण र रचनात्मक रहेको बताएका उनले नेपालको अंग प्रत्यारोपण उपचारका क्षेत्रमा रहेका जटिलताहरू सम्बोधन गर्न सम्मेलन प्रभावकारी हुने धारणा राखे ।