काठमाडौँ । पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीले स्थानीय तहमा जनताको चाहनाबमोजिमका कानुन निर्माण हुनुपर्ने बताएकी छन् ।
तुलसीपुर उपमहानगरपालिकाको आयोजना र मेट्रो कलेज तुलसीपुरको समन्वयमा सोमबार तुलसीपुरमा सम्पन्न ‘नीति र नेतृत्व तथा स्थानीय शासन र सुशासन’ सम्बन्धी अन्तरक्रियामा बोल्दै उनले निर्वाचनमा जारी गरेको घोषणापत्रअनुसारका नीति र कानुन निर्माण हुनुपर्ने बताइन् ।
स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले स्थानीय शासन जनताप्रति उत्तरदायी रहेको महसुस गराउन सक्नुपर्ने धारणा व्यक्त गरिन् ।
‘स्थानीय तहमा जनताको आवश्यकताबमोजिम नीति र कानुन तयार गरी सुशासनको ग्यारेन्टी गरिनुपर्छ,’ उनले भनिन्,‘नीति राम्रो भए मात्र कानुन राम्रो हुन सक्छ । जनप्रतिनिधि नीतिमा स्पष्ट हुनुपर्छ ।’