‘एक वर्षको समीक्षा पछि निजामती ऐन, शिक्षा ऐन र प्रहरी समायोजन ऐन ल्याउँछौँ’ « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

‘एक वर्षको समीक्षा पछि निजामती ऐन, शिक्षा ऐन र प्रहरी समायोजन ऐन ल्याउँछौँ’


२ पुस २०८०, सोमबार


prachanda

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहका जनप्रतिनिधिलाई सङ्घीयताको पक्षमा बोल्न आग्रह गरेका छन् ।

ललितपुर महानगरपालिकाको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले स्थानीय सरकार आएपछि विकासले फड्को मारेको र त्यो संघीय लोकतान्त्रिक गणतन्त्रले सम्भव भएको बताए ।

‘सङ्घीयता आएपछि अहिले ७ सय ५३ स्थानीय तहकै काम हेर्दा गर्व महसुस हुनुपर्छ । तर सङ्घीयताको वाहकहरूले जनताको सरकार बारे जनतालाई बुझाउन कन्जुस्याइँ गर्नहुन्न । ऐतिहासिक परिवर्तन बारे जनतालाई भनेनौँ भने देश पछाडि फर्किन सक्छ । संघीय लोकतान्त्रिक गणतन्त्रबारे स्थानीय सरकारका प्रतिनिधिले किन सकारात्मक किन भन्दैनौँ ?’ प्रचण्डले प्रश्न गरेका थिए ।

स्थानीय तहको जनप्रतिनिधिले सङ्घीयताको पक्षमा किन नबोलेको भन्दै गुनासो समेत गरे । ‘प्रचण्ड’ले गणतन्त्र विरोधीहरूले नकारात्मक भाष्य बनाएर सम्पूर्ण संविधान र परिवर्तनलाई निस्तेज गर्ने कसरत गरिरहेको भन्दै परिवर्तनका बाहकहरूले बोल्नुपर्ने बताए ।

आफू एक वर्षको समीक्षा पछि फरक ढङ्गले काम गर्ने भन्दै सङ्घीयता बलियो बनाउन निजामती ऐन, संघीय शिक्षा ऐन, प्रहरी समायोजन ऐन ल्याउने समेत बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस