भारतीय प्रधानमन्त्रीको गृह नगरमा पेन्टागन भन्दा ठुलो हीरा व्यापार भवन « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

भारतीय प्रधानमन्त्रीको गृह नगरमा पेन्टागन भन्दा ठुलो हीरा व्यापार भवन


१ पुस २०८०, आइतबार


गुजरात । भारतको गुजरातमा अमेरिकी सुरक्षा मुख्यालय पेन्टागन भन्दा ठुलो बहुउद्देश्यीय भवन निर्माण गरिएको छ । सुरत डायमण्ड बोर्स (एसडीबी) नामको सो भवन उद्घाटन समारोहमा विश्वका ७० हजार व्यवसायीहरूलाई निमन्त्रणा गरिएको त्यहाँका सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । 

आफ्नो गृह नगरमा निर्मित एसडीबी भवनको प्रधानमन्त्री नरेन्द्र मोदीले आज उद्घाटन गर्दै छन् ।  यो भवनलाई सबैभन्दा ठुलो अन्तर सम्बन्धित कार्यालय भवन मानिएको छ। यसमा ४ हजार ७०० भन्दा बढी कार्यालयहरू  रहन सक्नेछन् । 

यसको निर्माण लागत ३५ अर्ब भारतीय रुपैयाँ छ। भवनको निर्माण फेब्रुअरी २०१५ मा सुरु भएको थियो । यसको काम अप्रिल २०२२ मा सम्पन्न भएको हो। एसडीबी भवनमा सूरतको हीरा उद्योगले उत्पादन र व्यापार दुवैको लागि एउटै छानामुनि सबै थोक पाउन सकिने उद्देश्य राखेको बताइएको छ । सूरतले विश्वको प्राकृतिक हीराको ९२ प्रतिशत उत्पादन गर्छ ।

गिनिज वर्ल्ड रेकर्डमा नाम

यस भवनको नाम यसै वर्ष अगस्टमा गिनिज वर्ल्ड रेकर्डमा दर्ता भएको थियो । यो भवन ३५.५४ एकडमा फैलिएको छ । यो भवन ६७ लाख वर्ग फिटमा फैलिएको छ । यसअघि विश्वको सबैभन्दा ठुलो अफिस कम्प्लेक्सको कीर्तिमान अमेरिकाको पेन्टागनको नाममा थियो। पेन्टागनको निर्माण क्षेत्र ६५ लाख स्क्वायर फिट छ ।

सूरतमा बनेको यो मेगास्ट्रक्चरमा ९ ग्राउन्ड टावर र १५ फ्लोर छन्। नौ आयताकार टावरहरू केन्द्रीय मेरुदण्डद्वारा जोडिएका छन्। यसमा ३०० स्क्वायर फीट देखि १ लाख स्क्वायर फीट सम्मका ४ हजार ५०० भन्दा बढी अफिस स्पेस छन्। भवनले इन्डियन ग्रीन बिल्डिङ काउन्सिलबाट प्लेटिनम र्याङ्किङ प्राप्त गरेको छ ।

कार्यालयबाहेक डायमण्ड बोर्स क्याम्पसमा सेफ डिपोजिट भल्ट, कन्फरेन्स हल, बहुउद्देश्यीय हल, रेस्टुरेन्ट, बैंक, भन्सार क्लियरेन्स हाउस, कन्भेन्सन सेन्टर, प्रदर्शनी केन्द्र, तालिम केन्द्र, मनोरञ्जन क्षेत्र र क्लब जस्ता सुविधाहरू छन्। पछिल्ला केही हप्तामा, धेरै हीरा व्यापार कम्पनीहरूले यहाँ आफ्नो कार्यालय सुरु गरेका छन्।

एसडीबी भवनको विशेषता

भारतबाट हिरा, रत्न र गहनाको आयात, निर्यात र व्यापारलाई प्रवर्द्धन गर्ने, हीरा उत्पादन र व्यापारमा संलग्नहरूलाई अत्याधुनिक पूर्वाधार उपलब्ध गराउने, हिरा, रत्न र आभूषण काट्न, पालिश र प्रशोधन सहित सम्बन्धित व्यवसाय विस्तार गर्न, भारतलाई विश्वमा आधुनिक हीरा, रत्न र आभूषण बजारको रूपमा विकास गर्न र यस भवनलाई ६५ हजारभन्दा बढी हीरा विशेषज्ञहरूको लागि सुविधाजनक हब बनाउने विशेषता रहेको छ ।

यो भवनको डिजाइन दिल्लीका वास्तुविद्ले गरेका हुन्। यो भवन दिल्लीका आर्किटेक्ट सोनाली र मनित रस्तोगी र उनीहरूको फर्म मोर्फोजेनेसिसले डिजाइन गरेका हुन्। भवनको संरचना र बनाउने चुनौतीबारे मनित रस्तोगीले भने–‘भवन बनाउनुको सबैभन्दा ठुलो चुनौती भनेको ६५ हजार मानिस आउन सक्ने भवन कसरी डिजाइन गर्ने भन्ने थियो ।

६५ हजार मान्छे अट्ने यो भवन कुनै फुटबल रङ्गशाला जस्तै छ। यो उच्च सुरक्षा क्षेत्र पनि हो। यहाँ नियमित रूपमा आउने मानिसहरू एकै समयमा भवन भित्र र बाहिर गर्न सक्नेछन्। त्यस कारण मेरुदण्डको आकारको भवन बनाइएको छ। मेरुदण्ड साना हड्डीहरूको शृङ्खलाबाट बनेको हुन्छ जसलाई कशेरुका भनिन्छ। त्यसै गरी यो भवन पनि एक अर्कासँग जोडिएको छ । -नेपाल न्युज बैंक

Tags :
प्रतिक्रिया दिनुहोस