५ प्रदेशका ७१ वटा अस्पताल सामाजिक सुरक्षा कोषमा आबद्ध « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

५ प्रदेशका ७१ वटा अस्पताल सामाजिक सुरक्षा कोषमा आबद्ध


२६ मंसिर २०८०, मंगलबार


काठमाडौँ। सामाजिक सुरक्षा कोषले योगदानकर्ताको सुविधाका लागि हालसम्म देशका ७१ वटा अस्पतालसँग सम्झौता गरेको छ । योगदानकर्ताले उपचारपछि कोषको कार्यालयमा पुगेर दाबी भुक्तानी लिनु नपर्ने गरी ती अस्पतालसँग अनलाइन सम्झौता गरेको हो ।

सम्झौता अनुसार अनलाइन सेवा सञ्चालन भएका अस्पतालबाट कोषले उपलब्ध गराएका औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा सेवा लिँदा लाभग्राहीले लागेको रकमको २० प्रतिशत मात्र बुझाए पुग्नेछ । दुर्घटना तथा अशक्तता सुरक्षा योजनाअन्तर्गतको स्वास्थ्य सुविधा लिँदा लाभग्राहीले तोकिएको सीमाभित्र रही कुनै पनि भुक्तानी गर्नुपर्ने छैन ।

नियमित योगदान गर्ने योगदानकर्ताले कोशी प्रदेशका १५, मधेसका १२, बागमतीका २८, गण्डकीका ८ र लुम्बिनीका ८ गरी ७१ वटा अस्पतालमा कोषको परिचयपत्र देखाएर सुविधा लिन सक्नेछन् ।

२०७९ फागुन १ यता देशका विभिन्न स्थानमा अनलाइन (लाइभ) सम्झौता भएका छन् । जसमध्ये हालसम्म ७१ अस्पतालबाट औषधोपचारबापतको सुविधा भुक्तानी हुनेछ । त्यसबाहेकका स्थानहरूमा जुनसुकै अस्पतालमा उपचार गर्दा कोषको कार्यालयमा आवश्यक कागजात बुझाएर दाबी गर्नुपर्ने हुन्छ ।

आगामी दिनमा अस्पतालको आबद्धतालाई सङ्ख्यात्मक र गुणात्मक रूपमा बढाउँदै लैजाने कोषले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस