संक्रमणकालीन विधेयकमा सहमतिको अन्तिम प्रयास गर्छु, नभए बहुमतबाट टुङ्ग्याइन्छ : ‘प्रचण्ड’ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

संक्रमणकालीन विधेयकमा सहमतिको अन्तिम प्रयास गर्छु, नभए बहुमतबाट टुङ्ग्याइन्छ : ‘प्रचण्ड’


२४ मंसिर २०८०, आइतबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक सहमतिबाट नटुङ्गिए बहुमतबाट टुङ्गो लगाउने बताएका छन् ।

आइतबार गम्भीर मानवअधिकार उल्लङ्घनका पीडितहरूको राष्ट्रिय सञ्जालका प्रतिनिधिलाई बालुवाटारमा भेट्दै उनले आफू संक्रमणकालीन न्यायसम्बन्धी विधेयक राष्ट्रिय सहमतिबाट टुङ्ग्याउने अन्तिम प्रयास गर्ने तर हुन नसके बहुमतको आधारमा टुङ्ग्याउने बताएका हुन् ।

उनले हाल एमालेको मध्यपहाडी लोकमार्ग अभियान चलिरहेकाले उक्त अभियान सकिएपछि संसद बैठक बोलाउने बताए । ‘सम्भवतः त्यसपछि सदन बोलाउने सोचिँदै छ । तैपनि अब बस्ने सदनमा पहिलो एजेण्डाको रूपमा यसलाई प्रवेश गराइन्छ । राष्ट्रिय सहमति गराउने अन्तिम प्रयास हुनेछ । भएन भने डेमोक्रेटिक प्रक्रियाबाट टुङ्ग्याइन्छ’, उनले भने ।

प्रधानमन्त्री ‘प्रचण्ड’ले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि धावा बोल्ने कोसिस भइरहेको पनि बताए । ‘संघीय लोकतान्त्रिक गणतन्त्रमाथि धावा बोल्ने कोसिस भइरहेको छ । त्यसकारण पनि हामी अझ बढी एक भएर अघि बढ्न जरुरी छ र यसलाई छिटो भन्दा छिटो पोजिटिभली सकारात्मक ढङ्गले टुङ्ग्याउन जरुरी छ । त्यसो गर्न सकेनौँ भने अप्ठ्यारा आउँछ’, उनले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस