हिन्दु राष्ट्र र राजसंस्था पुनः स्थापनाका लागि मोर्चा बनाएर आन्दोलन गछौँ : कमल थापा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

हिन्दु राष्ट्र र राजसंस्था पुनः स्थापनाका लागि मोर्चा बनाएर आन्दोलन गछौँ : कमल थापा


२४ मंसिर २०८०, आइतबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले हिन्दु राष्ट्र र राजसंस्था पुनः स्थापनाको निम्ति आन्दोलन गर्नुपर्ने बताएका छन्।

आइतबार काठमाडौँमा पार्टीको केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष थापाले हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापनाको निम्ति आन्दोलनको विकल्प नभएको बताएका हुन्। उनले हिन्दु राष्ट्र र राजसंस्था पुनः स्थापनाको एजेण्डाको मुख्य संवाहक आफूहरू नै भएको भन्दै यसको निम्ति आन्दोलन नै अन्तिम विकल्प भएको बताएका हुन्।

उनले हिन्दु राष्ट्र र राजसंस्था पुनः स्थापनाका लागि बृहत् राष्ट्रिय मोर्चा बनाएर आन्दोलनमा जानुपर्ने बताए।

उनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था असफल भइसकेको बताए। अबको विकल्प राजसंस्था सहितको प्रजातन्त्र, हिन्दु राष्ट्र र दुई तहको सरकार भएको उनको भनाइ छ। उनको यसको निम्ति सम्पूर्ण जनताहरूलाई सडकमा आउन अपिल गरे।

उनले भने, ‘हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापनाको एजेण्डाको मुख्य संवाहक राप्रपा नेपाल हो। हामीले नै अब यो एजेण्डा स्थापित गर्नका निमित्त आन्दोलन नै अन्तिम विकल्प भएको ठहर गरेको र त्यो लक्ष्य प्राप्त गर्नको निमित्त बृहत् राष्ट्रिय मोर्चा निर्माण गर्नुपर्छ भनेर हामीले नै अग्रसरता लिएको सबै साथीहरूलाई जानकारी नै छ । संघीय गणतन्त्रको नाममा कायम रहेको भ्रष्ट व्यवस्था असफल भइसकेको छ । यो भ्रष्ट व्यवस्थाको जनताले विकल्प खोजेका छन् । त्यो विकल्प भनेको राजसंस्थासहितको प्रजातन्त्र, हिन्दुराष्ट्र र दुई तहको सरकार हो । यो सन्देश हामीले आम जनता समक्ष दिनु परेको छ । अर्थात् संघीय गणतन्त्र नामको व्यवस्था असफल भयो । अब हिन्दु राष्ट्र र राजसंस्थासहितको प्रजातन्त्र अनिवार्य छ । यो उद्देश्य प्राप्त गर्नको निमित्त आन्दोलनबाहेक अर्को विकल्प छैन । तसर्थ सम्पूर्ण जनता सडक सङ्घर्षमा आउनु जरुरी छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस