कोशी कसैको बिर्ता होइन, यस बुद्धिले तिमीहरूलाई सर्वनाश गर्छ : ओली « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

कोशी कसैको बिर्ता होइन, यस बुद्धिले तिमीहरूलाई सर्वनाश गर्छ : ओली


२१ मंसिर २०८०, बिहिबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कोशी प्रदेश कसैको बिर्ता नभएको बताएका छन् ।

समृद्धिका लागि पदयात्राअन्तर्गत बिहीबार पर्वतमा आयोजित कार्यक्रममा उनले केही पहिचानवादीले एमालेको यात्रालाई कोशीमा अवरोध गर्ने सन्दर्भलाई लिएर सो टिप्पणी गरे । नेकपा एमाले कहाँ जान पाउने ? कहाँ जान नपाउने ? भन्ने सिकाउन आवश्यक नरहेको उनको जिकिर छ ।

ओलीले भने, ‘पहिचानको नाममा, पहिचानवादका नाममा नेपाली जनतालाई फेरि अलमल्याउने, भ्रममा पार्ने, फाटो पार्ने, त्यस प्रकारका क्रियाकलाप हुँदैछन् । अहिले कोशी प्रदेशबाट, कोशी प्रदेशमा कोशी प्रदेश नाम राखियो, सबैको साझा नाम राखियो । एउटा पृष्ठभूमि विशेषको नाम राखिएन भनेर केही तत्त्वहरू, वितण्डा मच्चाउनलाई ठूलो तत्त्व चाहिँदैन, धेरै ठूलो शक्ति चाहिँदैन । विदेशबाट सञ्चालित, कसैको इसारामा नेपालमा एकता हुन नदिने, नेपालमा शान्ति हुन नदिने, नेपालमा लोकतन्त्र हुन नदिने, त्यसप्रति जनताको विश्वास हटाउने, अशान्ति मच्चाउने, शान्ति खलबल्याउने र देशलाई असहज स्थितिमा पारेर अरुकै स्वार्थ पूरा गर्ने प्रयासमा यस्ता तत्त्वहरू लागिरहेका छन् ।’

उनले थपे, ‘कसैको बिर्ता होइन कुनै भूभाग नेपालको । प्रवेश गर्न दिन्न, तोडफोड गर्छु, आक्रमण गर्छु, मारपिट गर्छु भन्ने खालका आतङ्ककारी कुराहरू हामीले धेरै देखेका छौँ । यस्तो फुर्ती नलगाए हुन्छ । हामीले सामना गर्न नपरोस् । म उहाँहरूलाई भन्न चाहन्छु, यो बुद्धि छिट्टै सच्याउनुस् । यो बुद्धि फेरिहाल होइन भने यस बुद्धिले तिमीहरूलाई सर्वनाश गर्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस