काठमाडौँ । संघीय संसद सचिवालयका उपसचिव रामप्रसाद गैरेले एक महिला शाखा अधिकृतमाथि हातपात गरेका छन् । प्रतिवेदनमा नाम छुटाएको भन्दै गैरेले महिला अधिकृतको गालामा चट्कन लगाएका हुन् ।
ती महिला अधिकृतले घटनाबारे बुधबार उपसभामुख इन्दिरा राना मगरलाई जानकारी गराएकी छन् । घटनाबारे थाहा पाएपछि उपसभामुख रानामगरले बिहीवार गैरेलाई उपस्थित गराएर घटनाबारे जानकारी लिने भएकी छन् ।
‘एक झापट हान्नु भएको रहेछ । घटनाबारे महिला कर्मचारीले जानकारी गराउनु भएको छ,’ उपसभामुख रानामगरले प्रशासनसँग भनिन्, ‘भोली (बिहीबार) पीडकलाई बोलाउने भएको छु । कुरा दुवैको सुन्नुपर्यो । यदि गलत भएको हो भने माफी माग्नु पर्छ ।’ कानुन बनाउने थलो संसदमै उपसचिव तहको कर्मचारीले महिला कर्मचारीमाथि अभद्र व्यवहार गर्नु भनेको गलत र गम्भीर विषय भएको उनको भनाइ छ ।
प्रत्यक्षदर्शीका अनुसार सांसदहरुले बोलेका विषयहरूलाई टिपोट गरी तयार पारिने बुकमा तत्कालीन अवस्थामा आफू पनि भएकोले नाम किन छुटाएको ? भन्दै गैरेले हातपात गरेका थिए । ‘अहिले अन्तै सरुवा भए पनि त्यो अवस्थामा आफूसमेत संलग्न भएकोले आफ्नो नाम नराखेको भेटिएपछि गालामा एक चड्कन हानेको विषय हो, खासै केही होइन’ ती प्रत्यक्षदर्शीले भने ।