अन्तर्राष्ट्रिय शान्ति स्थापनामा प्रभावकारी भूमिका निर्वाह गर्न नेपाल प्रतिबद्ध छ : उपप्रधानमन्त्री खड्का « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

अन्तर्राष्ट्रिय शान्ति स्थापनामा प्रभावकारी भूमिका निर्वाह गर्न नेपाल प्रतिबद्ध छ : उपप्रधानमन्त्री खड्का


२० मंसिर २०८०, बुधबार


घाना । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले संयुक्त राष्टसंघसँगको सहकार्यमा अन्तर्राष्ट्रिय शान्ति स्थापनामा प्रभावकारी भूमिका निर्वाहका लागि नेपाल प्रतिबद्ध रहेको बताएका छन् ।

संयुक्त राष्ट्रसंघको आयोजनामा घानाको आक्रामा सुरु भएको अन्तर्राष्ट्रिय शान्ति स्थापनासम्बन्धी संयुक्त राष्ट्रसंघीय मन्त्रीस्तरीय सम्मेलनका क्रममा उपप्रधानमन्त्री खड्काले सो प्रतिबद्धता व्यक्त गरेका हुन् । 

सम्मेलनका क्रममा आज संयुक्त राष्ट्रसंघ मुख्यालय, कार्य सञ्चालन सहयोग विभागका उपमहासचिव अतुल खरेले उपप्रधामन्त्री खड्कासँग शिष्टाचार भेट गरेका थिए । 

भेटका क्रममा उपमहासचिव खरेले नेपालले अन्तर्राष्ट्रिय शान्ति स्थापनाका लागि निर्वाह गरेको महत्त्वपूर्ण योगदानका लागि धन्यावाद समेत दिएका थिए ।

भेटमा उपप्रधानमन्त्री खड्काले नेपाल संयुक्त राष्ट्रसंघको वातावरण नीतिप्रति प्रतिबद्ध रहेको र वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रलाई पहिलो कार्बन तटस्थ प्रशिक्षण केन्द्र बनाउन काम अघि बढाइएको समेत उल्लेख गरे । 

आजै संयुक्त राष्ट्रसंघ, शान्ति कार्य विभागका उपमहासचिव जिन पियरर ल्याक्क्रोइक्सले पनि उपप्रधानमन्त्री खड्कासँग भेट गरेका छन् ।

भेटका क्रममा ल्याक्क्रोइक्सले नेपालको योगदानको कदर स्वरूप संयुक्त राष्ट्रसंघको मुख्यालय तथा शान्ति मिशनहरुमा समेत नेपाललाई उच्च तहमा थप अवसर प्राप्त हुने विश्वास व्यक्त गरेका थिए । 

भेटमा उपप्रधानमन्त्री खड्काले संयुक्त राष्ट्रसंघका महासचिवको हालै सम्पन्न नेपाल भ्रमणको स्मरण गर्दै महासचिवले ग्लोबल वार्मिङका कारण हिमालमा हिउँ पग्लिँदै गएकाले आगामी दिनमा थपिन सक्ने चुनौती तथा असरबारेमा चिन्तित रहेको र जारी कोप–२८ मा समेत जोडदार रूपमा नेपालले उठाएको स्मरण गराए ।  

त्यस्तै, आजै उपप्रधानमन्त्री खड्कासँग घानाका रक्षामन्त्री मोमिनिक नितिउअलले शिष्टाचार भेट गरेका छन् ।  

रक्षामन्त्री नितिउअलले नेपालबाट सम्मेलनमा भएको उच्च सहभागिताको प्रशंसा गर्दै नेपालले अन्तर्राष्ट्रिय शान्ति स्थापनामा खेलेको भूमिकाको सराहना गरेका थिए । 

उनले कतिपय शान्ति मिशनमा घाना र नेपाली शान्ति सैनिकहरूले मिलेर काम गरेको उल्लेख गर्दै घाना नेपालसँग द्विपक्षीय सम्बन्ध विस्तार गर्न र बहुपक्षीय मञ्चहरूमा सहकार्य गर्न सधैं तत्पर रहेको बताए । 

त्यसैगरि, उपप्रधानमन्त्री खड्का र भारतका रक्षा राज्यमन्त्री अजय भट्टबीच पनि  शिष्टाचार भेटवार्ता भएको छ । 

भेटका क्रममा नेपाल र भारतबीच रहिआएको बहुआयामिक सम्बन्ध, नेपाली सेना र भारतीय सेनाबीचको सहयोग र सहकार्यका छलफल भएको बताइएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस