नवराज विकहत्यासम्बन्धी मुद्दाको बहस सकियो, साँझसम्म फैसला आउने « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

नवराज विकहत्यासम्बन्धी मुद्दाको बहस सकियो, साँझसम्म फैसला आउने


१९ मंसिर २०८०, मंगलबार


काठमाडौँ । रुकुम पश्चिमको चौरजहारी नगरपालिका-८ सोतीगाउँमा नवराज विकसहित ६ जनाको हत्या भएको मुद्दाको बहस सकिएको छ ।

तीन वर्षअघि अन्तरजातीय प्रेम र विवाहको विषयलाई लिएर भएको हत्याकाण्डको कर्तव्य ज्यान र जातीय छुवाछूतसम्बन्धी मुद्दामाथि रुकुम पश्चिमका जिल्ला न्यायाधीश खड्गबहादुर केसीको इजलासमा आइतबारदेखि सुरु भएको निरन्तर सुनुवाइमा वादी र प्रतिवादी पक्षका वकिलको बहस मङ्गलवार सकिएको हो ।

मङ्गलवार दिउँसोसम्ममा २–२ जना जिल्ला सरकारी वकिल र उच्च सरकारी वकिलसहित २४ जनाले बहस गरेका छन् । वादी र प्रतिवादी दुवै पक्षका वकिलको बहस सकिएको हो ।

नवराजका बुवा मुनलाल नेपालीको जाहेरीका आधारमा घटनामा चौरजहारी–८ का तत्कालीन वडाध्यक्ष डम्बरबहादुर मल्लसहित ३४ जनाविरुद्ध मुद्दा चलिरहेको छ । उनीहरूमध्ये ११ जना तारेखमा छुटिसकेका छन् । २३ जना पुर्पक्षका लागि जेलमा छन् ।

२०७७ जेठ १० गते जाजरकोटको भेरी नगरपालिका-४ रानागाउँका २१ वर्षीय नवराज विक आफ्ना साथीसहित मल्ल थरकी प्रेमिकालाई भगाएर बिहे गर्न रुकुम पश्चिमको चौरजहारी नगरपालिका-८ सोतीगाउँमा पुगेका थिए । त्यहाँ पुगेका उनीहरूमाथि स्थानीयले योजनाबद्ध आक्रमण गर्दा नवराज विकसहित ६ जनाको हत्या भएको थियो । अरू १२ जना घाइते भएका थिए ।

घटनामा नवराज विकसहित उनका साथीहरू सन्दीप विश्वकर्मा, टीकाराम सुनार, लोकेन्द्र सुनार, गणेश बुढा र गोविन्द शाहीको हत्या भएको थियो । मृतकहरूको शव दुई हप्ता लगाएर भेरी नदी किनारबाट निकालिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस