इजरायली प्रधानमन्त्री नेतन्याहूको भ्रष्टाचारको मुद्दा पुन:सुरु « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

इजरायली प्रधानमन्त्री नेतन्याहूको भ्रष्टाचारको मुद्दा पुन:सुरु


१९ मंसिर २०८०, मंगलबार


जेरुसेलम । गाजा पट्टीमा हमासविरुद्ध जारी युद्धका बावजुद इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको भ्रष्टाचारको मुद्दा सोमबारदेखि पुन:चलेको छ ।

प्यालेस्टिनी इस्लामिक लडाकू समूह(हमास)ले अक्टोबर ७ मा दक्षिणी इजरायलमा गरेको रक्तपातपूर्ण आक्रमणमा एक हजार २०० व्यक्तिको मृत्यु हुनुका साथै २४० जनाको अपहरण भएको इजरायली अधिकारीहरूले बताएका छन् ।

इजरायलको दक्षिणपन्थी लिकुड पार्टीका नेता नेतन्याहूमाथि घूसखोरी, जालसाजी र विश्वासघातको आरोप लागेको छ ।

लिकुडका मन्त्री डेभिड अम्सालेमले युद्धको समयमा कारबाही पुनः सुरु गर्नु ‘अपमानजनक’ भएको बताएका छन् ।

अमसलामले आइतबार सामाजिक सञ्जाल एक्स (ट्वीटर) पेजमा भनेका छन्, ‘अबको सबैभन्दा महत्वपूर्ण कुरा युद्ध हो, वा बन्धकहरूको रिहाइ हो, वा प्रधानमन्त्री नेतन्याहूको भ्रष्टाचार मुद्दामाथिको छानबिन शुरू गर्नु हो र?’

नेतन्याहू र उनका सहयोगीहरूले उनी माथि लगाइएका आरोपहरू राजनीतिबाट प्रेरित भएको तर्क गर्दै न्यायिक सुधारको प्रस्ताव गरेका छन् जसले अदालतको केही अधिकारलाई कुण्ठित गर्न सक्छ ।

यो उच्च ओहोदाको सुनुवाइ अझै केही महिनासम्म चल्ने अनुमान गरिएको छ र अपिल प्रक्रिया आवश्यकता अनुसार वर्षौं पछि जान सक्छ ।

अभियोजनकर्ताहरूले नेतन्याहू र इजरायलको बेजेक टेलिकम कम्पनीको नियन्त्रण रहेका शेयरधारकबीच फर्मको स्वामित्वमा रहेको समाचार साइटमा सकारात्मक कभरेजका लागि नियामक पक्षहरू आदानप्रदान गर्न षडयन्त्र गरेको आरोप लगाएका छन् ।

दोस्रो मामला नेतन्याहूको हलिउड निर्माता अर्नोन मिल्चन र अन्य धनी व्यक्तित्वहरूसँगको सम्बन्धसँग सम्बन्धित छ ।

अभियोजकहरूका अनुसार सन् २००७ देखि २०१६ को बीचमा नेतन्याहूले सात लाख शेकेल (एक लाख ९५ हजार अमेरिकी डलर) बराबरको उपहार प्राप्त गरेका थिए ।

मुद्दा खेप्ने इजरायलका पहिलो बहालवाला प्रधानमन्त्री नेतन्याहूले कुनै पनि गलत कामको खण्डन गर्दै उपहारहरू मित्रहरूबाट मात्र स्वीकार गरिएको र आफूले नमागेको बताएका छन् ।

अक्टोबर २०१९ मा, उनका वकिलहरूले एक विशेषज्ञ कानूनी राय लिएका थिए, जसले उनलाई नजिकका साथीहरूबाट उपहार स्वीकार गर्ने अधिकार रहेको निष्कर्ष निकालेको थियो ।

इजरायलको सबैभन्दा लामो समयसम्म प्रधानमन्त्री रहेका नेतन्याहूले मिल्चनलाई करोडौँ डलर भित्र्याउने बदलामा कर परियोजनालाई बढावा दिएको आशङ्का गरिएको छ । अर्थ मन्त्रालयले उक्त प्रस्तावमा भिटो लगाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस