सिमरा विमानस्थलमा हवाई इन्धन रिफ्युलिङ स्टेसन सञ्चालन  « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

सिमरा विमानस्थलमा हवाई इन्धन रिफ्युलिङ स्टेसन सञ्चालन 


१७ मंसिर २०८०, आइतबार


काठमाडौँ । बाराको सिमरा विमानस्थलमा हवाई इन्धन रिफ्युलिङ स्टेसन स्थापना गरिएको छ ।

आइतबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले नेपाल आयल निगमले स्थापना गरेको स्टेसनको उद्घाटन गरेका छन् ।

रिफ्युलिङ स्टेसन स्थापना पनि विमानस्थल भएर उडान भर्ने जहाजलाई काठमाडौँबाटै दोहोरो रुटको इन्धन भरेर आउने बाध्यता हटेको छ । 

वायु सेवा कम्पनीले सिमरा विमानस्थलमा हवाई इन्धनको सेवा उपलब्ध हुनुपर्ने माग राखेपछि निगमले इन्धन उपलब्ध गराउन सुरु गरेको हो। विमान कम्पनीको समस्यालाई ध्यानमा राखेर सिमरामा हवाइ इन्धन भर्ने सुविधा सुरु हुनु सकारात्मक भएको मन्त्री रिजालको भनाई छ । 

सिमरामा उडान भर्ने जहाजको सुविधाका लागि हवाई इन्धन सेवा सुरु गरेको नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले बताए । ‘उपभोक्ताको सेवाका लागि सिमरामा हवाई इन्धन सेवा सुरु गरेका हौँ’ उनले भने। भरतपुर र जुम्ला विमानस्थलमा समेत हवाई इन्धन भर्ने सुविधा उपलब्ध गराउने गृहकार्य भइरहेको पनि थानीले जानकारी दिए । 

सिमरा विमानस्थलबाट हाल दैनिक एक दर्जन जति उडान हुने गरेको र एक हजारसम्म यात्रुहरू आवतजावत गर्ने गरेको सिमरा विमानस्थलले जनाएको छ।  

सिमरामा हवाइ इन्धन भर्ने सुविधा उपलब्ध भएपछि सबैभन्दा भरपर्दो वैकल्पिक विमानस्थलका रूपमा प्रयोग गरिने जानकारी नागरिक उड्डयन प्राधिकरणका उप महानिर्देशक प्रेमनाथ ठाकुरले दिए । उनले खराब मौसमका कारण काठमाडौँ विमानस्थलमा अवतरण हुन नसकेका विमानहरूलाई भैरहवा वा विराटनगरसम्म लैजानुपर्ने बाध्यता हटेकोसमेत बताए।

चालु आर्थिक वर्ष ०८०–८१ को नीति कार्यक्रममै राखेर सिमरा विमानस्थलमा इन्धन भर्ने सुविधा उपलब्ध गराइएको र सिमराबाट काठमाडौँमा मात्रै भइरहेको उडानको कार्यतालिका इन्धन भर्ने सुविधा सुरु भएपछि थप गन्तव्यमा बिस्तार हुने अपेक्षा राखेको निगमका नायब कार्यकारी निर्देशक वीरेन्द्र गोइतले बताए । 

सिमरामा उडान भर्ने विमानहरूमा तेल हाल्नका लागि ११ हजार र १६ हजार किलोलिटर क्षमताको दुई वटा रिफ्युलर राखिएको छ।  

Tags :
प्रतिक्रिया दिनुहोस