धार्मिक पर्यटकको आकर्षणमा शालिग्राम सङ्ग्रहालय   « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

धार्मिक पर्यटकको आकर्षणमा शालिग्राम सङ्ग्रहालय  


१६ मंसिर २०८०, शनिबार


ढोरपाटन (बागलुङ) । एक दशकअगाडि सम्म बागलुङ नगरपालिका-४ कुँडुले फेदी सुनसान थियो । बागलुङ बजार नजिकै रहेर पनि विकासका हिसाबले पछाडि परेको थियो । तर अहिले पूर्वाधार विकाससँगै धार्मिक पर्यटकीय गन्तव्यका रुपमा परिचित हुँदै गएको छ ।

तीन वर्षयता यहाँ आन्तरिक तथा बाह्य पर्यटकको दैनिक भिडभाड हुने गरेको छ । सुरुङ निर्माण गरी सङ्ग्रह गरेको सवा लाख शालिग्राम र रङ्गवेङ्कटेश्वर मुक्तिनारायण मन्दिरको दर्शनका लागि आन्तरिकसँगै भारतीय पर्यटक आउने गरेका छन् ।

मानवनिर्मित मन्दिर तथा शालिग्राम सङ्ग्रहालयले धार्मिक पर्यटकलाई आकर्षित गरेको छ । बागलुङ कालिका मुस्ताङको मुक्तिनाथ आउने हजारौँ पर्यटक अहिले सङ्ग्रहालयमा पुग्न थालेका छन् ।

धार्मिक महत्त्वका संरचनाको प्रचारप्रसारसँगै यहाँ आउने पर्यटनको सङ्ख्या हरेक वर्ष बढ्दो छ । सुरुङभित्र कालीगण्डकीको शिर दामोदरकुण्डदेखि त्रिवेणीधामसम्मको आकृति एकै ठाउँमा बनाइएको छ । जसले धेरैलाई आकर्षित गर्ने गर्छ । अझ बढी त शालिग्राम वरपर बनेका मन्दिर र त्यहाँ बनेका अनेक प्रकारका आकृतिले लोभ्याउने गर्छ ।

बागलुङ–बेनी सडक खण्डको केही माथिपट्टि रहेको सङ्ग्रहालय बागलुङ बजारदेखि करिब तीन किलोमिटर पश्चिममा पर्छ । पैदल यात्रामार्फत १५ मिनेट र गाडीमा पाँच मिनेटमा पुग्न सकिन्छ । मन्दिर, सङ्ग्रहालयलगायत संरचना निर्माण गर्ला १० करोड बढी लगानी भएको छ । चाडपर्व र बिदाको बेलामा अझ बढी पर्यटक आउने गरेका छन् ।

खासगरी दक्षिण भारतका पर्यटक बढी आउने गरेको शालिग्राम सङ्ग्रहालयका संरक्षक ऋषि प्रपन्नाचार्यले बताए । हरेक वर्ष यहाँ आउने पर्यटकको सङ्ख्या बढ्दै गएको उनको भनाइ छ ।

अघिल्लो आर्थिक वर्षमा एक लाखभन्दा बढी पर्यटकले शालिग्रामको अवलोकन गरेका थिए भने चालु आर्थिक वर्षको हालसम्म २५ हजारभन्दा बढी पर्यटक यहाँ आउने ऋषि प्रपन्नचार्य बताउँछन् । धर्मप्रति बढी आस्था राख्ने पर्यटक शालिग्रामको दर्शन गर्न आउने उहाँको भनाइ छ । तीव्र प्रचारप्रसारको कारण पर्यटक आउने क्रम बढेको प्रपन्नचार्यको भनाइ छ ।

‘परारभन्दा पोहोर धेरै पर्यटक आउनुभयो, पोहोरभन्दा यस वर्षभन्दा बढी आउने सम्भावना देखिएको छ, साउनदेखि यता २५ हजारभन्दा बढी पर्यटकले यहाँको अवलोकन गर्नुभएको छ, मुक्तिनाथ, कालीगण्डकी र बागलुङ कालिकाको सेरोफेरोमा शालिग्राम सङ्ग्रहालय रहेको हुँदा आगन्तुकलाई पायक पर्ने गरेको छ’, ऋषि प्रपन्नचार्यले भने ।

भारतबाट दर्शनका लागि आएका मुक्तिदेव हरिदासले शालिग्रामको दर्शन गर्दा मनोकाङ्क्षा पूरा हुने हुँदा चार दिन लगाएर यहाँ आएको बताए । मुक्तिनाथ पुग्ने मुख्य सडकमै शालिग्रामको दर्शन गर्न पाउँदा खुशी लागेको उनी बताउँछन् । हरिदासले अहिलेसम्म आफूले एउटा पनि शालिग्राम दर्शन गर्न नपाएको सुनाउँदै एकै पटक सवा लाख देख्दा दङ्ग परेको बताए । सङ्ग्रहालयभित्र बनाइएको आकृति अझ बढी उकृष्ट लागेको उनी बताउँछन् ।

हरिदासले भने, ‘संसारमा कतै पनि एकै ठाउँमा यति धेरै शालिग्राम पाइँदैन होला, हाम्रो मुख्य गन्तव्य मुक्तिनाथ थियो, पोखरा आउने बेला यहाँको बारेमा सुन्यौँ र मुक्तिनाथभन्दा पहिला शालिग्रामको दर्शन गर्न आयौँ, हाम्रो २६ जनाको टोली छ, गाडीमै सिधै आउन सकिने रहेछ, तल कालिका मन्दिर, माथि पञ्चकोट र यहाँ शालिग्राम कस्तो रमाइलो रहेछ, एकै ठाउँमा आउँदा धेरैको दर्शन गर्न पायौँ, फेरि अर्को पटक पनि आउने छौँ ।’

शालिग्रामवरपर रङ्गविङ्कटेश्वर मुक्तिनारायण मन्दिरसहित मुक्तिनाथ वेद विद्याश्रम पाठशालासमेत सञ्चालनमा छ । धार्मिक यात्रीले यहाँ आएर सबै क्षेत्रको अध्ययन र दर्शनसमेत गर्न पाउँछन् । पछिल्लो समय पशुपति, जनकपुर, लुम्बिनी र मुक्तिनाथको यात्रामा आउने धेरै भक्तजन र पर्यटकले शालिग्राम सङ्ग्रहालयलाई प्राथमिकतामा राखेका छन् । पर्यटन विकास समिति बागलुङका अध्यक्ष एवं बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले यहाँका बारेमा सञ्चारमाध्यम र समाजिक सञ्जालमार्फत प्रचारप्रसारमा ध्यान दिनुपर्ने बताए ।

धार्मिक पर्यटकलाई लक्षित गरी सूचना बोर्डहरु राख्ने, पर्यटक सहायता कक्षा स्थापना गर्नका लागि पर्यटन विकास समितिले तयारी थालेको अध्यक्ष खड्का बताउँछन् । ‘हामीसँग स्रोत साधान निकै कम हुन्छ, एक्लै गर्न सकिँदैन, यद्यपि क्षमताले भ्याएसम्म पर्यटन प्रवद्र्धनका लागि जुटिराखेका छौँ, पर्यटन बोर्डसँग पनि सहकार्य गर्नेछौँ’, उनले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस