स्वीकृतिविनै आजियटाले शेयर बेच्ने घोषणा गरेपछि प्राधिकरणले लेख्यो एनसेललाई पत्र « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

स्वीकृतिविनै आजियटाले शेयर बेच्ने घोषणा गरेपछि प्राधिकरणले लेख्यो एनसेललाई पत्र


१५ मंसिर २०८०, शुक्रबार


काठमाडौँ । मलेसियाको आजियटा कम्पनीले नेपाल दूरसञ्चार प्राधिकरणको पूर्वस्वीकृति र जानकारीविनै एनसेलको ८० प्रतिशत शेयर बेचेर नेपाल छाड्न लागेको खुलेको छ ।

प्राधिकरणले शुक्रबार एनसेल आजियटालाई पत्र लेखेर यसबारे ध्यानाकर्षण भएको जनाएको छ ।

दूरसञ्चार नियमावली, २०५४ को नियम १५ ९८० बमोजिम चुक्ता पुँजीको पाँच प्रतिशतभन्दा बढी शेयर खरिद वा बिक्री गर्नुअघि प्राधिकरणको स्वीकृति लिनुपर्ने व्यवस्था छ । तर, एनसेलले त्यस्तो अनुमति नै नलिइ शेयर बिक्री गर्ने तयारी गरेको थियो ।

नेपाल दूरसञ्चार प्राधिकरण (अनुमतिपत्र प्राप्त व्यक्तिको शेयर खरिद बिक्री) विनियमावली, २०७६ को विनियम ४ (क) बमोजिम अनुमतिपत्र प्राप्त व्यक्तिले आफ्ना शेयरधनीको शेयर खरिद बिक्री वा नामसारी गर्नुपूर्व प्राधिकरणको स्वीकृति प्राप्त गर्नुपर्ने व्यवस्था छ ।

एनसेलको शेयर बिक्री तथा हक हस्तान्तरण गर्न लागिएको भन्ने विज्ञप्ति प्रकाशित भएको देखिएको र यस विषयलाई लिएर विभिन्न सञ्चारमाध्यमहरूमा समाचारसमेत प्रकाशित भइरहेको विषयमा आफ्नो ध्यानाकर्षण भएको प्राधिकरणले बताएको छ ।

बुधबारमात्रै मलेसियाको आजियटा कम्पनीले एनसेलको ८० प्रतिशत शेयर बिक्री गरेर नेपालबाट बाहिरिने निर्णय सार्वजनिक गरेको थियो । आजियटाले ७ वर्षअघि टेलिया सोनेरासँग एनसेलको शेयर किनेको थियो । त्यसबेलाको करको विवाद अहिलेसम्म कायमै छ ।

एनसेलको व्यापार लगातार खुम्चिँदै गएपछि आजियटाले नेपाल छाड्न लागेको चर्चासमेत छ । एनसेलको नेपाली साझेदार सुनिभेरा क्यापिटल भेन्चर हो । भेन्चरको २० प्रतिशत शेयर छ ।

Tags :
प्रतिक्रिया दिनुहोस