विधान संशोधन गर्दै रास्वपा, महामन्त्रीको संयोजकत्वमा सिफारिस कार्यदल गठन « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

विधान संशोधन गर्दै रास्वपा, महामन्त्रीको संयोजकत्वमा सिफारिस कार्यदल गठन


१४ मंसिर २०८०, बिहिबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले विधान संशोधन गर्ने भएको छ । केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले पार्टी विधान संशोधन गर्ने निर्णय गरेको महामन्त्री मुकुल ढकालले जानकारी दिए ।

विधान संशोधनका लागि महामन्त्री ढकालको संयोजकत्वमा सात सदस्यीय विधान संशोधन सिफारिस कार्यदल बनाइएको छ । केन्द्रीय सहमहामन्त्री कवीन्द्र बुर्लाकोटी, केन्द्रीय सदस्यहरू सोविता गौतम, डा. तोसिमा कार्की, क्रान्तिशिखा धिताल, गणेश कार्की र वरिष्ठ अधिवक्ता नारायण घिमिरे समितिको सदस्य छन् ।

केन्द्रीय समिति र संसदीय दलको बैठकले सांसद स्वतः केन्द्रीय सदस्य हुने निर्णय गरेको छ । पार्टी विधानमा भने स्वतः केन्द्रीय सदस्य हुने व्यवस्था छैन । पार्टीले गरेका सबै निर्णय विधान बमोजिम हुने गरी विधान संशोधन गरिने महामन्त्री ढकालले जानकारी दिए ।

रास्वपाको जलेश्वर बैठकले पदाधिकारी थप गर्नुका साथै सचिवालय पनि गठन गरेको थियो । हालको विधानमा सचिवालय गठनको व्यवस्था नभए पनि महाधिवेशनको प्रक्रिया सुरु गर्न गठन गरिएको रास्वपाले जनाएको छ ।

विधानमा केही शब्दमा समेत संशोधन आवश्यक रहेको महामन्त्री ढकालले जानकारी दिए । पार्टी गठनको सुरुको समयमा पार्टी बैठकको सट्टा भेला गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस