त्रिपालमुनि बसेका भूकम्प पीडितलाई छानामुनि ल्याउन सरकार केन्द्रित : उपप्रधानमन्त्री श्रेष्ठ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

त्रिपालमुनि बसेका भूकम्प पीडितलाई छानामुनि ल्याउन सरकार केन्द्रित : उपप्रधानमन्त्री श्रेष्ठ


१४ मंसिर २०८०, बिहिबार


काठमाडौँ । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले जाजरकोट भूकम्पबाट प्रभावित नागरिकको जीवनयापनलाई सहज बनाउन सरकारले अस्थायी आवास निर्माणमा सुरक्षा अङ्गलाई परिचालित गर्ने निर्णय गरेको बताएका छन् ।

राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको आज बिहीबारको बैठकमा उनले त्रिपालमुनि बसिरहेका भूकम्प पीडितलाई छानामुनि ल्याउन सरकार केन्द्रित रहेको बताएका हुन् ।

चिसोका समयमा त्रिपालमुनि बसेका भूकम्प पीडित थप समस्यामा नपरुन् भनेर नै सरकारले नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीलाई अस्थायी आवास निर्माणमा खटाउने निर्णय गरेको उनको भनाइ छ । सम्बन्धित जिल्लामा रहेको जिल्ला विपद् व्यवस्थापन समितिले सुरक्षा अङ्गलाई आवश्यकताअनुसार परिचालित गर्न सक्ने व्यवस्था मिलाइएको जानकारी दिँदै उपप्रधानमन्त्री श्रेष्ठले थप जनशक्ति आवश्यक परेको खण्डमा उपलब्ध गराउन सरकार तयार रहेको बताए ।

भूकम्पबाट प्रभावित नागरिकलाई सहायता पुर्‍याउन सरकारले तत्कालै तीन चरणको काम अघि बढाएको उल्लेख गर्दै उद्धार, राहत र आवास पुनः निर्माणलाई प्राथमिकतामा राखिएको स्मरण गराए।

गएको कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भई भूकम्प जाँदा जाजरकोटमा एक सय एक र रुकुम पश्चिममा ५३ गरी एक सय ५४ जनाको ज्यान गएको र तीन सय ६६ जना घाइते भएका गृह मन्त्रालयले जनाएको छ । भूकम्पबाट जाजरकोट, रुकुम पश्चिम, रुकुम पूर्व, सल्यान, रोल्पा, नवलपरासी पूर्व, दैलेख, दाङ, बैतडी, जुम्ला, प्युठान, अछाम र जाजरकोटमा क्षति पुगेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस